नवलपरासीमा भिषण आगलागी आगलागीबाट पाँच घर नष्ट

परासी,२१ चैत , आगलागीबाट गुठीप्रसौनी गाविस–५ का पाँच घर जलेर नष्ट भएका छन् । शनिवार बिहान १० बजे लागेको आगोबाट १८ लाखबढीको धनमाल जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट स्थानीय वलिसरा कोईरी, सुरेश कोईरी, श्रीनिवास कोईरी, गोबिना कोईरी र राद्येश्याम हरिजनको घर जलेर नष्ट भएको हो । सबै घर खर र खपटाले बनेका कच्ची हुन् । छिमेकीको खेतमा डाँठ डढाउन बालेको आगो घरमा उडेर सल्किन पुग्दा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरहरुको बीचमा रहेको रामदास हरिजनको घुम्ति पसलमा समेत नोक्सानी पुगेको छ । सदरमुकाम परासीबाट २३ कि.मि.को सीमावर्ती नाकामा पर्ने गाउँमा लागेको आगो तत्काल स्थानीयले नियन्त्रण लिन सुरु गरेका थिए । त्यस पश्चात पुगेको रामग्राम नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया