नवलपरासीमा रहेका ५६ वटा सहकारी खारेजीको सूचीमा

नवलपरासी ३०, नवलपरासीमा रहेका ५६ वटा सहकारी खारेजीको सूचीमा परेका छन् । तोकेको समयमा लेखा परीक्षण र साधारण सभा नगराएका एवं गराएका भए पनि सोको विवरण पेश नगरेका कारण त्यस्ता सहकारीलाई खारेजी प्रक्रिया सुरु गरेको ले जनाएको छ । सहकारी ऐन २०४८ तथा सहकारी दर्ता, संचालन, लेखापरीक्षण तथा नियमन सम्बन्धी मापदण्ड २०६८ मा प्रत्येक सहकारी संघसंस्थाले कारोवारको विवरण तथा अन्य विवरणहरु तोकिएको समय सीमा भित्रमा रजिस्ट्रारसमक्ष अनिवार्य रुपमा पेस गर्नुपर्ने कानुनि प्रावधान छ । मापदण्ड विपरित सञ्चालित ५६ वटा सहकारी यस वर्ष खारेजीको प्रक्रियामा परेको कार्यालयले जनाएको समाचार विजयखबरमा मंगलबार प्रकाशित भएको छ । सहकारी ऐन २०४८ ले तोकेको समयमा लेखा परीक्षण र साधारण सभा नगराएका एवं गराएका भए पनि सो को विवरण पेस नगरेका र कार्यालयबाट विभिन्न मितिमा निरीक्षण तथा पत्राचार गरी संस्था नियमित रुपमा संचालन गर्न ताकेता गर्दा पनि हालसम्म कुनै जानकारी प्राप्त नभएपछि ती संस्थाहरुलाई खारेजी प्रक्रियामा लगिएको कार्यालयका प्रमुख सहकारी अधिकृत वासुदेव भट्टराइले बताए । कार्यालयले एक सूचना प्रकाशित गरी ३५ दिन भित्र संस्था संचालन नगर्नुको उचित र पर्याप्त कारण डिभिजन सहकारी कार्यालयमा पेस गर्न भनेको छ । उक्त मितिभित्र उचित कारण र सन्तोषजनक नभएमा वा सफाइ पेस नगरेमा सहकारी ऐन २०४८ को दफा ४१ को उपदफा ३ बमोजिम संस्था खारेज गर्ने गरी कारवाही गरिने जनाएको छ । साथै खारेजी प्रक्रियामा लगिएका सहकारीहरुमा कुनै सेयर सदस्य तथा बचतकर्ता वा अरु कसैको रकम कलम लिन÷दिन भएमा पनि ३५ दिनभित्रमा संस्थाको कार्यालय÷संचालक समिति वा व्यवस्थापकसँग सम्पर्क राखी हिसाव फरफारक गर्नु गराउनुहुन समेत डिभिजन सहकारी कार्यालयले आग्रह गरेको छ । गैंडाकोटका ६ वटा सहकारी खारेजीको सूचीमा छन् । डिभिजन सहकारी कार्यालय नवलपरासीद्धारा जारी सहकारी संघ÷संस्था खारेज सम्बन्धि अन्यन्त जरुरीे सूचनामा गैंडाकोट नगर क्षेत्रका ६ वटा सहकारी खारेजीको सूचीमा परेका हुन् । खारेजीको सूचीमा गैंडाकोट नगरपालिकाका छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, अमरापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड, सहभागी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बेल्डिया बहुमुखी सहकारी संस्था लिमिटेड र शिवशक्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड रहेका छन् । यस विषयमा आफुहरु अनभिज्ञ रहेको सहकारीका अध्यक्षहरुले बताएका छन् । छहारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामप्रसाद सिग्देलले हालसम्म कुनै जानकारी नआएको भन्दै कम्प्युटर प्रिन्ट गलत हुन सक्ने बताए । अमरापुरी मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष गंगाधर कंडेलले पनि आफु अनभिज्ञ रहेको बताए । शिवशक्ति दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण रिमालले पनि यस विषयमा थाहा नभएको बताए । त्यस्तै कावासोती नगरका ६ वटा सहकारी पनि खारेजीको सूचिमा परेका छन ।
तपाइँको प्रतिक्रिया