नवलपुरका दुवै संघीय निर्वाचन क्षेत्रमा काँग्रेसको उम्मेदवारी दर्ता

कावासोती, असोज २३
नवलपुरबाट गठबन्धनबाट आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ३ पदमा नेपाली काँग्रेस, २ पदमा नेकपा (माओवादी केन्द्र) र १ पदमा नेकपा (एकिकृत समाजवादी) ले आज उम्मेदवारी दर्ता गराएका छन् ।
नवलपुरका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यतर्फ नेपाली काँग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।
नवलपुरको क्षेत्र नं २ को संघमा माओवादी केन्द्रले टिकट पाएपनि अन्तिममा काँग्रेसलाई संघ छाडि प्रदेशमा उम्मेदवारी दिएका हुन् ।
नवलपुर क्षेत्र नम्बर १ मा संघ तर्फ डा.शशांक कोइरालाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता पछि डा. शशांक कोइरालाले आगामी निर्वाचन पछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने दावी गर्नुभएको छ । आफुले तीन पटक चुनाव जितेको र यस पटक निर्वाचन जितेर आफू प्रधानमन्त्रीको दौडमा रहेको बताउनुभएको हो ।
नवलपुर २ मा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुकुमार कार्कीको उम्मेदवारी दर्ता भएको छ । कार्कीले केन्द्रीय निर्वाचन आयोग काठमाडौंमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै प्रदेश सभा सदस्यका लागि नवलपुर १ (क) बाट नेपाली काँग्रेसका महेन्द्रध्वज जिसि,१ (ख) मा नेकपा (माओवादी केन्द्र) का लोकप्रसाद भुर्तेल, २ (क) मा नेकपा माओवादी केन्द्रका शुष्मा न्यौपाने र २ (ख) मा नेकपा (एकिकृत समाजवादी) का डा. गोपाल खनालले उम्मेदवारी दर्ता गराउनुभएको नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेश प्रसाद लुइँटेलले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया