नवलपुरमा कोभिडका कारण मृत्यु भएका परिवारले पाए आर्थिक सहयोग

नवलपुर, २० पुस । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले जिल्लाका ७८ जना मृतकको परिवारलाई पुस महिनामा रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो ।
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धि अवधारणापत्र–२०७८ बमोजिम कार्यालयले रकम प्रदान गरेको हो । स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंंका अनुसार कोभिड–१९ का कारण मृत्यु भएका मध्यविन्दु नगरपालिकाका २७, कावासोती नगरपालिकाका २७, देवचुली नगरपालिकाका १३, विनयी त्रिवेणी गाउँपालिकाका आठ, हुप्सेकोट गाउँपालिकाका तीन जना गरी ७८ जनाको परिवारले आर्थिक सहायता पाएका छन् ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रम मार्फत कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रति परिवार रु ५० हजारका दरले रु ३९ लाख आर्थिक सहायता उपलब्ध गराइएको चापागाईंंले बताउनुभयो । स्वास्थ्य कार्यालय नवलपुरले जिल्लाका आठ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा कोभिडका कारण मरेका व्यक्तिको तथ्याङ्क मागेको थियो । नवलपुरभित्रका स्थायी बासिन्दाको जुनसुकै अस्पतालमा उपचारका क्रममा कोभिड–१९ का कारण मृत्यु भए पनि उनीहरुलाई आर्थिक सहायता उपलब्ध गराइएको चापागाईंंले बताउनुभयो ।
मृतकका परिवारले कार्यालयलाई विवरण उपलब्ध गराएको मितिले १० दिनभित्र उहाँहरुको खातामा रकम पठाइने चापागाईं बताउनुभयो । मृतकका परिवारको खतामा १० दिनसम्म पनि पैसा नगएको भएमा पुनः कार्यालयमा सम्पर्क राख्न समेत चापागाईंंले आग्रह गर्नुभएको छ । कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका व्यक्तिका परिवारलाई मात्रै आर्थिक सहायता दिने भनेर कार्यविधि बनेकाले कोभिड लागेर घरमा नै मृत्युवरण गरेका व्यक्तिको परिवारलाई भने आर्थिक सहायता उपलब्ध गराउन नमिल्ने चापागाईंंले बताउनुभयो ।
जिल्लामा कोभिड–१९ बाट मृत्यु भएका १४० व्यक्तिको परिवारलाई उपलब्ध गराउन पुग्ने रकम निकासा भइसकेको भन्दै चापागाईंले त्यो भन्दा बढी निवेदन परेमा प्रदेश सरकारसँग रकम निकासाका लागि माग गरिने बताउनुभयो । चापागाईंकाअनुसार जिल्लामा कोभिड–१९ का कारण हालसम्म १७३ जनाको मृत्यु भइसकेको छ ।
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलीपी, आर्थिक सहायता दावी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिताको प्रमाणपत्रको प्रतिलिपी, आर्थिक सहायता दावी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित प्रतिलिपी अनिवार्य पेस गर्नुपर्ने चापागाईंले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाले भने कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको परिवारको फारक आफैले सङ्कलन गरेको छ । नगरपालिकाले नगरवासीको फारमहरु सङ्कलन गरेर एकमुष्ठरुपमा स्वास्थ्य कार्यालयमा बुझाएर मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने गरी काम गरेको नगर प्रमुख छत्रराज पौडेलले बताउनुभयो । गैँडाकोटबाट स्वास्थ्य कार्यालयमा जानका लागि टाढा भएकाले नगरपालिकामा नै सबै कागजपत्र सङ्कलन गरिएको पौडेलले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया