नवलपुरमा लागुऔषध सहित ६ जना पक्राउ

फाल्गुन २ , नवलपुर
नवलपुरमा लागुऔषध सहित ६ जनालाई पक्राउ गरिएको छ । पूर्वी नवलपरासीमा नवलपुर प्रहरीले विभिन्न स्थानबाट लागुऔषध सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार कावासोती ८ थाना चोकमा राजमार्ग चेकजाँचको क्रममा काठमाडौ महानगरपालिका २३ धुम्बराही निवासी १८ बर्षीय रवि राई र दोलखा भिमेश्वर नगरपालिका ११ बस्ने २३ बर्षीय सुमन सुवेदीलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो । उनीहरुको साथबाट ५३ एम्पुल डाइजापाम, ५३ एम्पुल नुफिन र ३८ वटा सिरिन्ज फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसै कावासोती १६ चालिसकिलो भन्ने स्थानमा राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले काठमाडौं महानगरपालिका ३२ का ३० बर्षीय दीपक थापा र चितवनको भरतपुर महानगरपालिका ४ निवासी ३० बर्षीय कृष्ण कंडेललाई लागुऔषध सहित पक्राउ गरेको छ ।
न ४६ प ३४८७ नम्बरको स्कुटरमा आएका उनीहरुको साथबाट नुफिन ३ सय २८ एम्पुल, फेनारागन ३ सय २८ एम्पुल, डाईजापाम ३ सय २८ एम्पुल, नाइट्राभ्याट १० लेखेको १ पत्तामा १५ ट्याब्लेट लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।
सोही स्थानमा नवलपुर प्रहरीले चितवनको भरतपुर महानगरपालिका ७ निवासी २१ बर्षीय दिपेश क्षेत्री र भरतपुर २५ निवासी २९ बर्षीय नारायण क्षेत्रीलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
निजहरुको साथबाट प्रहरीले नुफिन ५५ एम्पुल, फेनारागन ५५ एम्पुल, डाईजापाम ५५ एम्पुल बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई आगुऔषध अन्तरगत मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया