नारायणगढ – बुटवल सडक विस्तार आयोजना : बिजुलीको पोल सार्ने काम सुरु

ज्ञानु पंगेनी
कावासोती , ८ कात्तिक
देशकै गौरबको आयोजनाका रुपमा लिएको नारायणगढ – बुटवल सडक विस्तार आयोजना अन्तरगत पूर्वी नवलपरासी खण्डमा बिजुलीको पोल सार्ने कामको थालनी गरिएको छ ।
पहिलो चरण अन्तर्गत कावासोतीको खरकट्टा जंगल क्षेत्र र बौलाहाखोला, मुकुन्दे खोला र झरही खोला पुलको आसपासको स्थानमा नयाँ पोल गाड्ने काम सुरु भएको आयोजनाका पूर्वी खण्डका सुचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा नेपाल बिद्युत् प्राधिकरण कावासोतीसंगको समन्वयमा नयाँ पोल गाड्ने काम सुरु गरिएको आचार्यले बताउनुभयो । पुलको काम सुरु गर्नका लागि बिजुलीको पोलले बाधा पु¥याउने हुँदा पहिलो चरणमा पुलको आसपास र जंगल क्षेत्रबाट नयाँ पोल गाड्ने काम सुरु गरेको आचार्यले बताउनुभयो । सडकको क्षेत्रफलभन्दा बाहिर नयाँ पोल गाड्ने काममा अहिले कामदार खटिएका छन् । नयाँ पोल गाडेर तार टाँगेपछि पुरानो पोलदेखी बिजुलीको तार सार्ने काम गरिने आचार्यले जानकारी दिनुभयो ।
आयोजनाका ईन्जीनियर प्रविण थापाका अनुसार पहिलो चरणमा खरकट्टा जंगलको चार किलोमिटर क्षेत्रफलमा नयाँ पोल गाडिने छ । त्यसपछि अन्य जंगल क्षेत्र तथा बजार क्षेत्रमा गरि पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर क्षेत्रफलको बिजुलीको पोल सार्ने काम हुने थापाले जानकारी दिनुभयो ।
विद्युत प्रधिकरण कावासोतीका प्रमुख अमित कुमार कर्णले बिजुलीको पोल हटाउने सन्दर्भमा निर्माण कम्पतीसंग आफुहरुले समन्वय गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले पोल सार्ने , रुख कटान गर्ने समयमा विद्युत् आपूर्ती बन्द गर्नुपर्ने भएकाले त्यसका लागि समन्वय गर्ने र पोल सार्न आवश्यक परेको खण्डमा प्राविधिक खटाउने काम गरेको बताउनुभयो ।
सडक विस्तारको काम अहिलेसम्म जम्मा ८ प्रतिशत मात्रै सम्पन्न भएको छ । काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको आचार्यको भनाई छ । यी काम सकिएर अन्य काम शुरु भएपछि भौतिक प्रगति बढ्ने उहाँ बताउनुहुन्छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएर विसं २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले रु १६ अर्ब ९९ करोड ५२ लाखमा पाएको हो । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर भइरहेको छ ।
अहिले दुई लेन रहेको नारायणगढ बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई – दुई लेनको बिचमा ‘ग्रीनरी’ सहितको सडक निर्माण हुने छ । तीन मिटरको बिच भागमा बिरुवा लगाईनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछी दुईतर्फ ७ /७ मिटरको हुनेछ । बजार क्षेत्रमा ‘सर्भिस लेन’ समेत निर्माण गरिने छ । सार्वजनिक सवारीले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाईने छ । दाउन्ने क्षेत्रमा भने तीन लेनको सडक निर्माण गरिने छ । उकालो तर्फ चढने सवारीले प्रयोग गर्ने गरि दुई लेन र ओरालोमा उत्रिने सवारीले एक लेन प्रयोग गर्ने गरि तीन लेनको सडक निर्माण गरिने छ ।
तपाइँको प्रतिक्रिया