नारायणगढ मुग्लिङ्ग सडक खण्ड आजदेखि बन्द नहुने, पहिलो तहको कालोपत्रे पुरा ।

चितवन, २३ –जेठ ।
सडक विस्तारका लागि दिउँसो आवागमन रोकिएको नारायणगढ–मुग्लिन सडकखण्ड आजबाट २४ सै घण्टा संचालनमा आएको छ । सडक निर्माणको कामलाई तिब्रता दिन माघ १३ गतेबाट दिउँसो १० बजेदेखि ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यसअघि पनि पटक–पटक दिउँसो र रातको समयमा गाडी रोकेर काम गरिएको थियो । सडकखण्डमा पहिलो तहको कालोपत्रे गर्ने काम सकिएकाले आजदेखी सडक नियमित हुने आयोजनाले जनाएको छ ।
दोस्रो तहको कालोपत्रे केहिदिन भित्रै र तेस्रो तहको कालोपत्रे यही आर्थिक बर्षभित्र सक्ने तयारी अयोजनाको छ । तीन खण्डमा ठेक्का लगाएर काम थालिएको सडकमा हिजो पहिलो तहको कालोपत्रेको काम सकिएको आयोजनाका सूचना अधिकृत शिव खनालले जानकारी दिनुभयो । आँपटारीदेखि मुग्लिनसम्मको ३३।२ किलोमिटर लामो सडकखण्डमा बाँकी रहेको ६० मिटर कालोपत्रेको काम सकिएको हो । हालसम्म आयोजनाको ९१ प्रतिशत काम सकिएको छ । बाटोमा कुनै अवरोध नभए अब ३५ मिनेटमा यो सडकखण्ड पार गर्न सकिने पनि खनालले जानकारी दिनुभयो । ठूला ट्रक र बसलाई भने सडक पार गर्न ४५ देखि ५० मिनेट लाग्नेछ । मोटरसाइकलमा यात्रा गर्नेले ३५ मिनेटमै सडक पार गर्न सक्छन् ।
वर्षातमा पहिरो खसेर जोखिम ल्याउन सक्ने ठाउँमा पहिरो खसालेर जोखिम हटाउने काम भैरहेको छ । पहिरो रोक्ने काम ४२ प्रतिशत सम्पन्न भैसकेको खनालले जानकारी दिनुभयो । कालोपत्रेको काम सकिए पनि आयोजनाको सबै काम सक्न असारमसान्त सम्म लाग्ने नारायणगढ मुग्लिन आयोजनाले जनाएको छ ।
तपाइँको प्रतिक्रिया