नारायणी पुलमा स्मार्ट बत्ती जडान, बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्ने

चितवन, फाल्गुन १९
चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरिएको छ । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत सो बत्ती जडान गरेको हो । महानगरकी मेयर रेणु दाहालले बिहिबार साँझ बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेपछि नारायणी पुलमा राती अन्धकारमय भएको थियो । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् । पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ । पुलमाथि बत्ती बलेसँगै रातको समयमा स्थानीय एवं बाह्य सर्वसाधरणलाई ओहोर दोहोर गर्न सहज भएको छ । पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ । भरतपुर महानगरले पहिलो चरणमा ७८.१ किलोमिटर र दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप सडक बत्ती राख्ने तयारी गरेको छ ।
तपाइँको प्रतिक्रिया