निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको एमालेको आरोप

भाद्र २२, काठमाण्डौं
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्नेगरी सरकारले कर्मचारी सरुवा गर्ने काम गरिरहेको आरोप लगाउँदै तत्काल बन्द गर्न माग गरेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सो निर्वाचनलाई प्रभावित तुल्याउने गरी सरकारले राजनीतिक आस्थाको आधारमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु जिल्लाजिल्लामा खटाउने काम गरिरहेको भन्दै तत्काल त्यो काम नरोकिए आफ्नो पार्टी कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी समेत दिनु भयो ।
स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरु परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकीर गर्दै प्रमुख सचेतक भट्टराई आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भईरहेको बताउनु भयो । जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उहाँको भनाई थियो ।
निर्वाचन आयोगले यही भदौं २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिईसकेको छ । प्रमुख सचेतक भट्टराईले हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो कला प्रस्तुत गरेबापत १० दिन देखि हिरासतमा राखेकोमा आपत्ति जनाउँदै तत्काल रिहाई गर्न पनि सरकारलाई दवाव दिनु भयो ।
तपाइँको प्रतिक्रिया