निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने दलहरूकाे प्रतिवद्धता

६ वैशाख, काठमाडौँ । प्रमुख राजनीतिक दलका नेताले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने र निर्वाचन घोषणापत्रमा बाल संरक्षणका विषय समावेश गर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका छन् । स्थानीय तहको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षण पैरवी अभियानले बुधबार यहाँ आयोजना गरेको निर्वाचनमा बालअधिकार तथा बालसंरक्षणका लागि राजनीतिक संवाद विषयक कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका नेताहरुले बालबालिकालाई निर्वाचनको प्रचारप्रसारमा प्रयोग नगर्ने सामूहिक प्रतिवद्धता व्यक्त गरेका हुन । अभियानका तर्फबाट कृष्ण सुवेदी र युवराज घिमिरेले नेतालाई १९ बुँदे सुझावपत्र हस्तान्तरण गरेका छन् । नेकपा एमाले का सचिव प्रदीप ज्ञवालीले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने भन्दै पार्टीले बालअधिकारको संरक्षण र अधिकारका कुरालाई स्थानीय सरकारमा प्राथमिकतामा राख्ने बताउनु भयो । उहाले स्थानीय तहले नै बालबालिकाको अधिकारलाई सुनिश्चित गर्ने बताउँदै बालबालिकाको विकासमा सहयोग पुर्याउने कुरा घोषणापत्रमा राखिने धारणा व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले पार्टीले १६ वर्षमुनिकालाई सदस्य नबनाउने भन्दै त्यसपछि मात्र प्रयोग गर्ने बताउनु । उहाले आफ्नो पार्टी बालबालिकाका अधिकारप्रति गम्भीर भएकाले निर्वाचनमा बालबालिकाका मुद्दालाई प्रथामिकतामा राखिने समेत बताउनु भयो । नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले विगतमा पार्टीले बालबालिका निर्वाचनमा प्रयोग गरे पनि अबदेखिको निर्वाचनमा पार्टीले बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेकपा मालेका महासचिव सिपी मैनालीले बाल संरक्षणका लागि अब बन्ने स्थानीय सरकारले सही अर्थमा काम गर्नसक्ने बताउनु भयो । राप्रपा प्रवक्ता रोशन कार्कीले सबै पार्टीले निर्वाचनमा बालबालिकाको प्रयोग निषेध गर्नुपर्ने भन्दै आफ्नो पार्टीले पनि निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
तपाइँको प्रतिक्रिया