नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनायो

२० जेठ, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । केन्द्रीय समितिको निर्णयविपरित माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा ५ सय, पोलिट्ब्युरोमा १ सय ४ र स्थायी समितिमा ३४ जना थपिएका छन् । एकता प्रक्रिया सम्पन्न भएको दुई सातापछि माओवादी केन्द्रले केन्द्रीय समितिको निर्णयविपरित आफ्ना सबै संरचना जम्बो बनाएको हो । बिहीबार विहान पेरिसडाँडामा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बनाएको र त्यसमा १ सय जनाको नाम भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । १० दिन पहिले सम्पन्न केन्द्रीय समितिले महाधिवेशन आयोजक समिति ६ सय ९९ सदस्यीय, पोलिट्ब्युरो १ सय ५१ सदस्यीय र स्थायी समिति बढीमा ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो । तर माओवादी केन्द्रले भागबण्डा मिलाउने नाममा केन्द्रीय समितिको निर्णय विपरित पोलिट्ब्युरो २ सय ५५ र स्थायी समिति ८५ सदस्यीय बनाएको हो । प्रवक्ता भुसालले केन्द्रीय समितिको कार्यादेशअनुसार र कार्यदलको सुझाव अनुसार स्थायी, पोलिट्ब्युरो र महाधिवेशन आयोजक समितिको आकार बढाइएको बताइन् । बैठकले प्रदेश तहमा एकता प्रक्रियाको कामलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय पनि गरेको प्रवक्ता भुसालले बताइन् ।
तपाइँको प्रतिक्रिया