नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने : चिनियाँ राष्ट्रपति सी जिनपिङ

असोज ३०– चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिनुभएको छ । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा भारत जानुभएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उहाँलाई पुनः निम्तो दिनुभएको थियो । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले आफु यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्ने तर भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री डा महतले जानकारी दिनुभयो । चीनले नेपालको आर्थिक एवम् सामाजिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । पछिल्लो समय चीन सरकारले नेपाल सरकारलाई उपलब्ध गराउँदै आएको सहयोग राशिमा ठूलो परिमाणमा वृद्धि गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री दाहालले चीन सरकारले अप्ठ्यारो अवस्थामा नेपाल र नेपाली जनतालाई पुर्याएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्नुभयो । सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएपनि नेपाल र चीनबीच हजारौँ वर्षदेखि मित्रवत् सम्बन्ध रहिआएको छ । भूगोल र जनसङ्ख्याको दृष्टिले नेपाल र चीनबीच निकै ठूलो असमानता रहेपनि दुई देशबीचको सम्बन्ध निक्कै प्रगाढ छ । दुई मुलुकबीचको सम्बन्ध संयुक्त राष्ट्रसङ्घको बडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित छ । भेटका अवसरमा प्रधानमन्त्री दाहालले एक चीन नीतिप्रतिको नेपालको प्रतिबद्धतालाई दोहोर्याउँदै नेपालीे भूमि कुनै पनि मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिइने बताउनुुभयो । चीनले खासगरी विमानस्थल, विद्युत् आयोजना र सडकलगायत पूर्वाधार विकासमा महत्वपूर्ण अनुदान सहायता र आर्थिक सहयोग प्रदान गर्दैआएको छ । मन्त्री महतका अनुसार प्रधानमन्त्री दाहालले दुई देशका साझा समस्यालाई आपसी संवादबाटै समाधान गर्ने र त्यसका लागि मिलेर अगाडि बढ्ने चाहना चिनियाँ नेतासामु राख्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया