नेपालगञ्ज जोड्ने रेल सेवा बन्द

नेपालगञ्ज,असार २५-
अंग्रेजको पालादेखि नेपालगञ्ज जोड्ने रेल सेवा भारत सरकारले पहिलोपल्ट बन्द गरेको छ । रेलको लिक निकै पुरानो भएकाले मर्मत गर्न र बिस्तार गर्न सेवा बन्द गरिएको हो ।नेपालगञ्जसँग जोडिएको रुपैडिहादेखि गोण्डासम्मका लागि सानो रेल सञ्चालन हुँदै आएको थियो । गोण्डा यस्तो रेलवे स्टेशन हो, जसले सिंगो भारतलाई जोडेको छ । सेवा बन्द भएपछि रुपैडिहा–गोण्डासम्मको सोझो रेल सम्पर्क चार दिनदेखि टुटेको छ । भारत सरकारले रुपैडिहा–गोण्डासम्मको पुरानो रेल सेवा हटाएर ब्रोड गेजको (बडिलाइन) सेवा सञ्चालन गर्न निर्णय गरिसकेको छ ।
उसले मर्मत र बिस्तारको काम सुरु गरिसकेको छ । सीमाञ्चल पत्रकार एशोसिएसन इण्डो नेपाल उत्तर प्रदेशका प्रमुख एसके मदेशीयाले नयाँ रेल बिस्तारपछि नेपालगञ्ज सोझै दिल्लीसँग जोडिने बताउनुभयो । तर, सीमावर्ती आफ्ना नागरिकका लागि भने रुपैडिहा–बहराइचसम्म दिनमा दुईपल्ट साँझ र बिहान साढे ८ बजे रेल सञ्चालनमा छ ।
हाललाई नेपालगञ्ज–गोण्डासम्मको सोझो सम्पर्क बन्द रहनेछ । तर, नयाँ सेवा बिस्तारपछि दिल्लीबाट मालबाहक रेल गाडी सोझै नेपालगञ्जको सीमासम्म आइपुग्ने बताइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले नेपालगञ्ज जोड्ने रेल सेवा भारतले बन्द गरेको बारे जानकारी नभएको बताउनुभयो ।
तपाइँको प्रतिक्रिया