‘नेपालमा मोदीविरोधी गतिविधि नरोके राम्रो हुँदैन’, भारतीय विदेशमन्त्री स्वराजको धम्कीपूर्ण अभिव्यक्ति

भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नेपालमा आफ्नो मुलुक र प्रधानमन्त्री नरेन्द्र मोदीविरोधी गतिविधि बढेको भन्दै आपत्ति जनाकी छन् ।
एक सातायता भारतले लगाएको अघोषित नाकाबन्दी हटाएर आपूर्ति व्यवस्था र आवतजावत सुचारु गराउने प्रयासमा दिल्ली गएका आपूर्तिमन्त्री सुनीलबहादुर थापासँगको भेटमा स्वराजले भारतविरोधी गतिविधि नियन्त्रण गर्न नेपालको सरकारले चासो नदिएको भन्दै आपत्ति जनाएकी हुन् ।
भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी गर्दै उनले शान्ति सरक्षाका कारण ढुवानी व्यवसायी आफैंले गाडी चलाउन नचाहेकाले यस्तो अवस्था आएको बताएकी छन् ।
हुँदै नभएको नाकाबन्दीबारे गलत प्रचार गरेर नेपालसहित अन्तर्राष्ट्रिय स्तरमा समेत भारत र प्रधानमन्त्री मोदीको छवि धमिल्याउने कोसिस भएको तर्क उनको थियो ।
‘भारतले नेपालमा कुनै नाकाबन्दी लगाएको छैन’, थापालाई सुष्माले भनेकी थिइन्, ‘नाकाबन्दीको बहानामा नेपाल र बाहिरसमेत भारत तथा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अनर्गल प्रचार गरिएको छ, यस्ता गतिविधि नरोकिए परिणाम नराम्रो हुन सक्छ ।’
नेपालमा संविधान जारी बनेलगत्तै एकपछि अर्को गर्दै भारतीय सन्तुष्टि र दबाब बाहिर आइरहँदा नेपालमा प्रधानमन्त्री मोदीको चर्को आलोचना भइरहेको छ ।
नेपाल भ्रमणमा आएका बेला गाडीबाट सडकमा उत्रिएर हात मिलाउने र नेपाल–भारतबीचको परम्परागत सम्बन्धमा सुधार ल्याउने प्रतिबद्धताका कारण नेपालमा उनका समर्थक बढेका थिए ।
मन्त्री थापालाई प्रधानमन्त्र सुशील कोइरालाले नाकाबन्दी हटाएर आपूर्ति सुचारु गराउने जिम्मेवारीसहित सोमबार दिल्ली पठाएका थिए ।
स्वराजले संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि सोमबार साँझै मन्त्री थापालाई भेटेकी थिइन् । सुष्मासँगको भेटबारे थापासँग प्रधानमन्त्री सुशील कोइराला आफैंले टेलिफोन गरी जानकारी लिएका छन् ।
Source : Kathmandutoday
तपाइँको प्रतिक्रिया