नेपालले आग्रह गरे कोदारी राजमार्ग खुलाउन चीनले सघाउने

काठमाण्डु, १५ असोज– उत्तर छिमेकी चीनले अवरुद्ध कोदारी राजमार्ग पुनःनिर्माण गरी तातोपानी भन्सार नाकाबाट आपूर्ति सुचारु गराउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएको छ ।
भारतले अघोषित नाकाबन्दी गरेपछि तातोपानी नाका खुलाउने प्रयासमा खासा पुगेका एमाओवादी नेता तथा सिन्धुपाल्चोकको सभासद् अग्नि सापकोटासँगको भेटमा चिनियाँ सैनिक अधिकारीले राजमार्ग खुलाउन जस्तोसुकै सहयोगका लागि तयार रहेको बताएका हुन् ।
सापकोटाका अनुसार चिनियाँ अधिकारीले आवश्यक परे चिनियाँ सेनाको आपतकालिन फोर्स परिचालन गरेर भए पनि बाटो बनाउन सघाउने बचन दिएका थिए ।
‘तपाईंहरु काठमाण्डुमा रहेको हाम्रो दूतावास, बेइजिङ र तिब्बत सरकारसँग पनि कुरा गर्नुस्’, चिनियाँ अधिकारीको भनाइ उद्धत गर्दै सापकोटाले काठमाण्डु टुडेसँग भने, ‘नेपाल सरकारले औपचारिक पत्र पठाउने बित्तिकै हामी काम थाल्छौं ।’
उनीहरुले नेपालीहरुको महान् चाड दसैंका लागि सामान आपूर्ति गराउन सकिए राम्रो हुने समेत बताएका थिए ।
१२ वैशाखमा गएको भूकम्पपछि गएको पहिरोका कारण कोदारी राजमार्ग अवरुद्ध हुँदा तातोपानी नाकाबाट हुने आपूर्ति ठप्प छ ।
तपाइँको प्रतिक्रिया