नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ नाम दिएर निर्वाचन केन्द्रीत अभियान संचालन गर्ने

काठमाडौं, भाद्र ४
नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ नाम दिएर निर्वाचन केन्द्रीत अभियान संचालन गर्ने भएको छ ।
यही भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्वाचन केन्द्रीत अभियानको नाम ‘जनताको साथमा काँग्रेस’ नाम दिएको हो ।
केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यसको जानकारी दिनु भएको हो ।
‘स्थानीय तह निर्वाचनका बेला हामीले पहिलो चरणमा घरघर जाऔं, कांग्रेस जिताऔं भन्ने नारा दिएका थियौं,’ उहाँले भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचनका लागि यसपटक जनताको साथमा काँग्रेस नारा दिइएको छ ।’
पहिलो चरणमा यो अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।
केन्द्रीय समितिबाट अभियान अन्तर्गत ७७ वटै जिल्लामा प्रतिनिधि खटाइने पनि उहाँले जानकारी दिनुभयो । अभियानमा परिचालित हुने प्रतिनिधिहरूलाई अभियानका बारेमा भोलि पार्टी सभापति देउवाले ‘अभिमुखिकरण तालिम’ दिइने पनि उहाँले जानकारी दिनुभयो ।
पहिले जिल्ला कार्यसमितिको बैठक राखेर, जिल्ला गएका केन्द्रीय प्रतिनिधि सहितको अभियान थालनी गरिने र बैठकपछि उहाँहरू कम्तिमा पाँचदिन जिल्लामा बसेर अभियानका कार्यक्रममा सहभागि हुने प्रवक्ता महतले बताउनुभयो ।
अभियानमा केन्द्रीय प्रतिनिधिजस्तै प्रदेश समितिले पनि प्रतिनिधि पठाउन निर्देशन गरिएको छ । यसरी पठाइएका प्रदेश प्रतिनिधिले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरेर काम गर्नुपर्ने प्रवक्ता महतले बताउनुभयो ।
यसबाहेक जिल्ला समिति, निर्वाचन क्षेत्र समिति, प्रदेश निर्वाचन क्षेत्र, पालिका समिति र वडा समितिले पनि मातहतका टोलस्तरसम्म अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया