नेपाल इरानसामु निरीह, १०- ० ले पराजित
आश्विन १६, २०७२- नेपाली युवा टिम घरेलु मैदानमा एक महिनाअघि मात्र साफ यू–१९ च्याम्पियन भएको थियो । नेपाली फुटबल टिमले जितेको २२ वर्षयताकै सबभन्दा ठूलो सफलता थियो त्यो । त्यसैले उसले एएफसी यू–१९ च्याम्पियनसिप २०१६ को छनोटमा पनि राम्रो खेल्ने अपेक्षा गरिएको थियो । तर, पहिलो खेलमै नेपालमाथि घरेलु टिम इरानले गोलको वर्षा गर्दै १०–० को जित निकाल्यो ।
मसादस्थित सामेन अल आमेह स्टेडियममा पहिलो मिनेटमै इरानले दुई गोल गर्यो । कप्तान रेजा चावले गोलको खाता खोलेपछि निमा मोखदतारीले इरानको अग्रता दोब्बर पारे । उनीहरूले पहिलो हाफमै २–२ गोल गरे । नेपालले उल्लेखनीय आक्रमण गर्न नसकेको पहिलो हाफमा इरानले ५–० को अग्रता लिएको थियो ।
छिरिङ गुरुङको फलमा प्राप्त पेनाल्टीमा इरानले ५५ औं मिनेटमा छैटौं गोल गर्यो । त्यसपछि पनि गोलको वर्षा रोकिएन । र, अन्त्यमा स्कोर इरानको पक्षमा १०–० भयो । यसअघि भएको समूह ‘ई’ को पहिलो खेलमा कुवेतले जोर्डनलाई २–१ ले हराएको थियो ।
तपाइँको प्रतिक्रिया