नेप्सेमा माग घटेछैन :राकेश थापा

काठमाडौं, २४ जेठ लामो समयसम्म बढेको बजारमा लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेपछि नेप्से ओरालो लागेको छ । ‘बजारको प्रवृत्ति हेर्दा अब केही दिन नेप्से घट्नसक्ने देखिएको छ,’ सेयर लगानीकर्ता राकेश थापाका अनुसार अझै पनि बजार वियरिस प्रवृत्तिमा जाला भन्ने अपेक्षाचाहिँ नगरिएको , आपूर्ति बढे पनि नेप्सेमा माग नघटेको बताए। गत साताको अन्तिम दिन बिहीबार कारोबार रकममा निकै कमी आएको देखिएको थियो । तर, आइतबार पुन: व्यापार रकममा सुधार भएपछि लगानीकर्ता आशावादी देखिएका छन् । ‘भोल्युम (व्यापार रकम)ले अझै पनि साथ दिइरहेको छ,’ सेयर विश्लेषक एवं लगानीकर्ता पुरुषोत्तमराज चिमौरियाले भने, ‘माग नघटेकाले ठूलो अन्तरले नेप्से ओर्लेला भन्ने आँकलन गर्न कठिन छ ।’ सातवटा मात्रै महँगिए आइतबार नेप्सेमा व्यापार भएका १ सय २८ कम्पनीमध्ये ७ ओटा कम्पनीकोमात्रै सेयर महँगिए । बाँकी सबै कम्पनीको भाउ ओरालो लागे । समग्र बजार परिसूचक अघिल्लो दिनको तुलनामा ३४ दशमलव ९८ अंक (२ दशमलव ३ प्रतिशत) घट्यो र १ हजार ४ सय ८३ दशमलव १४ अंकमा झरेको छ । केही दिनअघि १५ सय ४४ अंकमा प्रतिरोध बनाएको नेप्से दुई सातापछि पुन: १ हजार ५ सय अंकबाट ओर्लिएको छ । नेप्सेको रेखाचित्र विश्लेषणले १ हजार ४ सय ६७ अंकमा नजिकको टेवा रहेको देखाउँछ । त्यसपछि १ हजार ३ सय ५१ अंकमा मात्रै बलियो टेवा देखिएको छ । आइतबार सोल्टी होटेलको सेयर मूल्य ९ दशमलव ८ प्रतिशत महँगिएपछि होटेल उपसमूहको सूचकांक ६ दशमलव ८९ प्रतिशत बढेको छ । यसबाहेक केही लघुवित्त कम्पनीको सेयर महँगिएका छन् । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत लघुवित्त कम्पनीको पँुजी वृद्धि गर्ने आशामा लगानीकर्ताको आकर्षण बढेको हो । साढे ६ हजार व्यापार आइतबार नेप्सेमा करिब साढे ६ हजार व्यापारबाट १ सय २८ कम्पनीका २४ लाख ४५ हजार कित्ता सेयर करिब १ अर्ब ३९ करोड १८ लाख रुपैयाँमा किनबेच भयो । यसबाट नेप्सेमा १६ खर्ब २४ करोड रुपैयाँ बजार पुँजीकरण भयो । व्यापार रकममा वृद्धि भए पनि लगानीकर्ता बिक्रीको मानसिकतामा देखिएको ब्रोकरहरूले बताएका छन् । आइतबार तुलनात्मक सिटिजन्स बैंक इन्टरनेसनलको सर्वाधिक २० करोड ९५ लाख ७८ हजार रुपैयाँको सेयर व्यापार भयो । सानिमा बैंकको १४ करोड र सिभिल बैंकको संस्थापक सेयर १० करोडभन्दा बढीको व्यापार भयो ।
तपाइँको प्रतिक्रिया