नेविसंघमा चितवनबाट १० जनाको उम्मेदवारी

भरतपुर,२९ साउन ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेनका लागि चितवनबाट १० जनाले विभिन्न पदमा उम्मेदवारी दिन लागेका छन् । प्रदेश नम्बर ३ मा चितवनबाट नेविसंघ सभापतिसहित विभिन्न पदका लागि १० जनाले उम्मेदवारी दिने तयारी थालेका छन् ।
अध्यक्ष पदका लागि नीलकण्ठ रिजाल, महामन्त्रीका लागि विनय भट्ट, अरुणेश्वर खनाल, सहमहामन्त्रीका लागि गणेश पौडेल, अनिल अधिकारी र अन्य सदस्य रहेका छन् । चितवनबाट उम्मेदवारी दिन लागेका सबैको नारा शैक्षिक गुणस्तर वृद्धि र सर्वसुलभ शिक्षा नै छ ।
अध्यक्ष पदको उम्मेदवार रहेका रिजाल चितवनमा रहेर लामो समय विद्यार्थी राजनीति गरेका विद्यार्थी हुन् । नेपाल विद्यार्थी संघको चितवनमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित रिजाल पछिल्लो समय मनोनित सहमहामन्त्रीसम्मको जिम्मेवारी वहन गरिसकेका छन् ।
महामन्त्री र सह महामन्त्रीमा चितवनबाट २–२ जनाको नाम चर्चामा आइरहेको छ । महामन्त्री पदका लागि विनय भट्ट र अरुणेश्वर खनाल रहेका छन् । भट्ट त्रिचन्द्र कलेजका स्ववियु सभापति भइसकेका विद्यार्थी नेता हुन् । उनी काठमाडौं बसेर नेविसंघको राजनीति गर्दै आएका छन् । यस्तै अर्का उम्मेदवार खनाल नेपाल जेसीसका वरिष्ठ उपाध्यक्ष रहेका छन् । हरेक क्षेत्रबाट नेतृत्व गर्न सफल भइसकेका खनाल अहिले नेविसंघको ११ औं महाधिवेशनमा आफू महामन्त्रीको पदमा रहन योग्य ठानेका छन् ।
नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पसका पूर्व इकाइ सभापति भई केही समय जिल्ला सभापति रहेर काम गरिसकेका छन् । लामो समयसम्म महाधिवेशन नहुँदा आफूलाई नेतृत्वमा लगेर आफ्नो क्षमता देखाउन नपाएका विद्यार्थी नेताहरु अहिले नेविसंघ नेतृत्वमा पुग्न खोज्नेहरु धेरै छन् । यस्तै सहमहामन्त्रीको पदमा पनि दुई जनाले उम्मेदवारी दिने बताएका छन् ।
सहमहामन्त्रीमा नेपाल विद्यार्थी संघ चितवनका जिल्ला उपसभापति गणेश पौडेल रहेका छन् । उनको राजनीतिक यात्रा बालकुमारी कलेज चितवनको इकाइ अध्यक्ष हुँदै राजनीतिक यात्रा सुरु गरेका हुन् । यस्तै सहमहामन्त्रीकै पदमा नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पसका उपसभापति एवं क्रिकेटर अनिल अधिकारी पनि चर्चामा छन् ।
यस्तै केन्द्रीय सदस्यमा पाँच जनाको उम्मेदवारी रहेको छ । प्रदेश नम्बर तीनको महिला कोटाबाट कल्पना पौडेलले उम्मेदवारी दिने चर्चा छ । महिलाहरुमा पनि सक्रिय राजनीतिमा लागेकी पौडेल हाल नेपाल विद्यार्थी संघ चितवनको उपसभापति, मैयादेवी कन्या कलेजको इकाइ सभापति हुन् ।
यस्तै केन्द्रीय सदस्य पदमा उठ्ने मुकेश सापकोटा नेपाल विद्यार्थी संघ काठमाडौं इन्जिनियरिङ कलेजको इकाइ सभापति भइसकेका छन् । चितवन जिल्लाका स्थायी बासिन्दा सापकोटा युवा पुस्ता माझ लोकप्रिय मानिन्छन् । यता नेविसंघ चितवनको जिल्ला नेतृत्व गर्ने सबैजसो विद्यार्थी नेताहरुले केन्द्रमा आफूलाई उम्मेदवार बनाउन कस्सिएका छन् ।
केन्द्रीय सदस्यमा चितवनबाटै विष्णुहरि थापा, सुदर्शन सुवेदी र राजन दाहाल रहेका छन् । केन्द्रीय कार्यसमितिमा जान खोजेका विद्यार्थी नेताहरुलाई जिताउन जिल्ला कार्यसमिति सक्रिय बनेको नेविसंघ चितवनका जिल्ला सभापति सूर्य ढकालले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया