नौ विद्यार्थी संगठनले भारतीय दूताबास घेर्ने, कालोबजारिया समातेर प्रहरीलाई बुझाउने निर्णय

१० असोज, काठमाडौं । नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा विभिन्न ९ वटा विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् ।
विद्यार्थीहरुले सोमबार भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएका छन् । मंगलबार राष्ट्र संघको ध्यानाकर्षण गराउने र कालाबजारियालाई कारवाही गर्नेसम्मका कार्याक्रम विद्यार्थीले सार्वजनिक गरेका छन् ।
एमालेनिकट अनेरास्ववियुको कार्यालयमा आइतबार बसेको संयुक्त बैठकले सोमबारदेखि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । नौ विद्यार्थी संगठनको बैठकले सोमबार नेपालस्थित भारतीय दूतावाससहित देशभर प्रदर्शन गर्ने निर्णय गरेको अनेरास्ववीयुकी सचिव राधिका खतिवडाले जानकारी दिइन् ।
नेपाल-भारत पारवहन सन्धीअनुसार नेपालले पाउने अधिकारका विषयमा मंगलबार संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको खतिवडाले बताइन् ।
त्यस्तै विद्यार्थीहरुले अभावका बेलामा कृत्रिम अभाव सिर्जनागरी कालोबजारी गर्ने व्यवसायीलाई निगरानी गरी कारवाही गर्ने निर्णयसमेत गरेका छन् ।
व्यवसायीले कालोबजारी गरेको पाइएमा विद्यार्थी संगठन आफैंले कारबाही गर्नुका साथै प्रशासनको जिम्मा लगाइने खतिवडाले अनलाइनखबरलाई बताइन् ।
तपाइँको प्रतिक्रिया