पर्यटन दिवस : वान विलियन टुरिष्ट,वान विलियन अपरच्युनिटी’

३६ औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालले ‘वान विलियन टुरिष्ट, वान विलियन अपरच्युनिटी’ मूल नाराका साथ दिवस मनाउन लागेको हो ।
सन् १९८० देखि विश्वभर यो दिवस मनाइँदै आएको छ । नेपाल संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्र भएदेखिनै विश्व पर्यटन दिवस मनाउन थालेको पाइन्छ । नेपालले पनि असोज १० अर्थात् २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाउँदै आएको छ ।
यस वर्षको विश्व पर्यटन दिवसमा भूकम्पले पर्यटनमा पारेको असरलाई सकारात्मक प्रचारप्रसार गर्ने विषयलाई जोड दिएको छ । भूकम्पले भत्काएका भौतिक पूर्वाधार मर्मत सम्भार तथा पुनःनिर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि सरकारले विशेष रणनीतिक योजना अघि सारेको छ ।
पर्यटकीय गन्तव्यको विकाससँगै थप नयाँ गन्तव्यको प्रवद्र्धन गरी अधिक पर्यटकीय लाभ लिनेगरी कार्ययोजना ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्पपछि थलिएको पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन रणनीतिक योजनाको अन्तिम तयारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन रणनीतिक योजना बनेको र यसलाई चाँडै लागू गर्ने प्रक्रियामा रहेको जानकारी दिए ।
प्रवक्ता सापकोटाका अनुसार भूकम्पबाट प्रभावित ११ जिल्लाको पर्यटनलाई पुनरुत्थान गरी पूर्वअवस्थामा फर्काउने पुनःनिर्माण र नवनिर्माणका कार्यक्रमलाई तीव्रता दिइनेछ । गत वैशाख १२ गते गएको ७।६ रेक्टर स्केलको भूकम्प र त्यसपछिका परकम्पका कारण पर्यटन क्षेत्रले सबैभन्दा बढी क्षति व्यहोरेको छ ।
भूकम्पबाट सांस्कृतिक सम्पदा र विभिन्न पर्यटकीय गन्तव्यसहित रु एक खर्ब एक अर्ब क्षति भएको मन्त्रालयले जनाएको छ । पुनःनिर्माणका लागि रु ६० अर्ब चाहिनेछ । सरकारले पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि तत्काल रु ६० करोडको कार्ययोजना अघि सारेको छ ।
पर्यटन मन्त्री कृपाशूर शेर्पाको अध्यक्षतामा गठित राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको छ । नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि हालै ‘नेपाल पूर्ववत् विश्वको सर्वोच्च शिखरमा’ नारा र सांस्कृतिक सम्पदा, हिमाललगायतको प्रतीकचिह्न सार्वजनिक गरेको थियो ।
तपाइँको प्रतिक्रिया