पहाडी क्षेत्रमा २ महिना पछि बल्ल गाडी चल्न थाले

पुरुषोत्तम सुबेदी,परासी , २ कार्तिक । नवलपरासीको पहाडी क्षेत्रमा जाने एक मात्र दलदले–बुलिङ्गटार सडक खण्डमा गएको पहिरो २ महिना पछि हटाएपछि बल्ल गाडी चल्न थालेका छन् । ठाउं ठाउंमा पहिरो गएर अबरुद्ध बनेको पहाडी क्षेत्रको सडक स्थानीयहरुले एक जुटभई पहिरो हटाएपछि सहज रुपमा यातायात संचालनमा आएका हुन् । दुई महिना अघि गएको पहिरो दशैनजिकिए संगै हटाइएपछि पहाडी १७ गाउं बिकास समितीका स्थानियहरुले सहजताको महशुस गरेका छन् । जिल्ला विकास समितिले डोजर खर्च व्यहोर्ने गरी पहिरो पन्छाउने काम पुरा भएपछि गाडी चल्न थालेको स्थानीयहरुको भनाई छ । जिल्ला विकास समिति नवलपरासीको सहयोगमा स्थानीय बासिन्दाले सो पहिरो पन्छाएका हुन् । पहिरो हटाएपछि लेकबेशी यातायात व्यवसायी समितिका गाडी चलेका छन् ।सो क्षेत्रमा दैनिक रुपमा करिब ५० वटा सवारी साधान संचालनमा छन् । बर्षाको समयमा लामोसमय सम्म पहिरो गएका ति सडकका पहिरो स्थानियहरुले हटाउन सफल भएपछि सडक संचालनमा आएको हो । पहिरो हटाएपछि पहाडी अर्खला , धौबादी , जौबारी , भारतीपुर , डेढगाउं , नरम र मिथुकरम लगायतका गाउं बिकास समितीमा यातायात संचालन भएका छन् । नवलपरासीको पहाडी क्षेत्रमा बर्षातले गर्दा करिब ४ महिना सो भेगहरुमा पहिरोका कारण यातायात अबरुद्ध हुदा खच्चड तथा मानिसहरुबाट औषधी र खाद्यन्न ढुवानी गर्नुुपर्ने बाध्यता रहदै आएको छ । ( रासस)
तपाइँको प्रतिक्रिया