पूर्व युवराज्ञी हिमानी शाहद्धारा गैँडाकोटमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण

गैँडाकोट, ७ पुष ।
पूर्व युवराज्ञी हिमानी शाहले आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा विपन्न बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । गैँडाकोट नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयमा शाहले नगरभित्रका विभिन्न आठ वटा संस्थाका ३८४ जनालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
पूर्व युवराज्ञी हिमानी शाहले सञ्चालन गर्नुभएको सेवामूलक संस्था हिमानी कोषले नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोटका सात वटा विद्यालय र एउटा अपाङ्गता भएकाहरुको संस्थामा गरी जम्मा ३८४ जनालाई न्यानो कपडा र स्वतः पानी शुद्धिकरण गर्ने बोत्तल वितरण गरेको हो ।
कार्यक्रम संयोजक एवं हिमानी कोष नवलपुरका सल्लाहकार सरोज कँडेलका अनुसार पञ्चकन्या आधारभूत विद्यालयका २० जना, नवदुर्गा आधारभूत विद्यालयका ७० जना, नेपाल राष्ट्रिय शमशेर आदर्श माध्यमिक विद्यालयका सुस्तःमनस्थिति भएका १२ सहित ५७ जना, महेन्द्र स्मारक आधारभूत विद्यालयका ४५ जना, मौलादेवी आधारभूत विद्यालयका ५० जना, भाग्योदय आधारभूत विद्यालयका २५ जना, नारायणी माध्यमिक विद्यालयका ८२ जना र अपाङ्ग जीवन विकास संस्थामा आश्रित १५ जनालाई ज्याकेट, झोला र पानी फिल्टर वितरण गरिएको हो ।
संस्थाले गरिब तथा विपन्न परिवारका ३५७ बालबालिका तथा २७ जना अपाङ्गता भएका बालबालिकालाई सामग्री वितरण गरेको हो । न्यानो कपडा वितरण गर्नु अगाडि पूर्व युवराज्ञी हिमानी शाहले गैँडाकोटको सीताराम सप्तऋषि मन्दिरमा पूजा अर्चना समेत गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया