पेट्रोलको अभाव हुँदा खानेतेलको मूल्य बढ्यो

भारतले अघोषित नाकाबन्दी पेट्रोलियम पदार्थको अभाव झेल्दै आएका उपभोक्ताले अब खाने तेलमा पनि मूल्यवृद्धिको मार झेल्नुपर्ने भएको छ ।
भारतबाट आपूर्ति रोकिएपछि नेपालमा खाने तेलको मूल्य अप्रत्याशितरुपमा बढेको व्यापारीहरुको दाबी छ ।
नेपाल खुद्रा ब्यापार संघका अनुसार उद्योगले नै मूल्य बढाएपछि बजारमा भटमास र सूर्यमुखीको तेलको मूल्य उकालो लागेको हो ।
४ दिन अघिसम्म १ सय १५ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको भटमासको तेल मूल्य अहिले १ सय ४० रुपैयाँसम्म पुगेको खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले बताए । चार दिनमै भटमासको तेलमा प्रतिलिटर २५ रुपैयाँ बृद्धि भएको छ । ‘कार्टुनमै मूल्य बढेर आएको छ, प्रतिकार्टुन ११ सय रुपैयाँमा पाइने तेल ११ सय ५० सम्म तिर्नुपरेको छ’ मानन्धरले भने । यस्तै सूर्यमुखी तेलमा पनि प्रतिलिटर २५ रुपैयाँसम्म मूल्य बढेको छ । यसअघि प्रतिलिटर १ सय २५ रुपैयाँ रहेको सुर्यमुखी तेलको मूल्य अब लिटरको १ सय ४५ रुपैयाँ पुगेको छ । यसैगरी तोरीको तेलमा पनि प्रतिलिटर १० रुपैयाँ मूल्य बढेको संघले जनाएको छ । केही दिन अघि १ सय ४० रुपैयाँ लिटरमा पाइने तोरीको तेलको मूल्य १५० पुगेको व्यापारीहरुले बताएका छन् । धेरैजसो खानेतेल सिंगापुरबाट भारत हुँदै नेपालमा ल्याएर प्याकिङ गरी उद्योगहरुले बिक्री गर्ने गरेका छन् । अहिले भारतको नाका ठप्प भएपछि उद्योगले नै मूल्य बढाएको मानन्धरले दाबी गरे ।
तपाइँको प्रतिक्रिया