पेट्रोल लिन सीमा नाका केरुङतर्फ नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल प्रस्थान

चीनबाट प्राप्त हुने अनुदानको पेट्रोल लिन सीमा नाका केरुङतर्फ नेपाल आयल निगमको नेतृत्वमा एक प्रतिनिधि मण्डल प्रस्थान गरेको छ । चीनले अनुदानस्वरुप उपलब्ध गराउन लागेको पेट्रोल शनिबार साँझसम्म नेपाल–चीनको केरुङ नाकामा आइपुग्ने भएपछि पेट्रोल लिन १२ वटा ट्याङ्करसहित शुक्रबार बिहान निगमका प्रवक्ता दीपक बरालसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको एक हजार टन पेट्रोलको पहिलो ‘लट’ शनिबार केरुङ आइपुग्न लागेको हो । ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालले चीन सरकारबाट उपलब्ध गराउन लागिएको पेट्रोल जतिसक्दो चाँडो नेपाल पठाउन आग्रह गरेअनुसार चिनियाँ पक्षले शनिबार केरुङ पु¥याउन लागेको जानकारी दिनुभयो । भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गर्न लागेको हो । पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन १२ हजार लिटर बोक्ने १२ वटा ट्याङ्कर केरुङ गएको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार शनिबार नै नेपाली ट्याङ्कर ‘लोड’ हुनेछन् । सो टोलीमा सहभागी नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर पेट्रोल ल्याउनेछ । टोलीमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष खगेश्वर बोहरा र महासचिव अर्याल, नेपाल पेट्रोलिय डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानसमेत सहभागी हुनुहुन्छ ।
तपाइँको प्रतिक्रिया