प्रचण्डको ‘भीष्मप्रतिज्ञा’- दुई वर्ष नेतृत्व गर्छु, पार्टीलाई नम्बर एक बनाउँछु

१६ असोज, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अबको दुई वर्ष पार्टीकेा नेतृत्व गर्ने र पार्टीलाई एक नम्बर बनाउने ‘भीष्मप्रतिज्ञा’ गरेका छन् ।
शनिबार नेवाः, ताम्सालिङ र तमुवान जिल्ला स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले अब पार्टी निर्माणमा लाग्ने बताए । अहिलेकै अवस्थामा पार्टी अगाडि जान नसक्ने भन्दै उनले नयाँ ढंगले अघि बढ्ने बताए । प्रचण्डले भने-‘पार्टीलाई एक नम्बर बनाउन सकिन्छ भन्ने मलाई विश्वास छ ।’
प्रचण्डले अबको दुई वर्ष आफूले नेतृत्व सम्हाल्ने भन्दै त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने समेत गरे । पार्टी निर्माणका लागि जिल्ला र गाउँ गाउँ जाने भन्दै उनले भने-‘पहिला महासचिव हुँदा म ३६ वर्षको थिएँ । अहिले उमेरका हिसावले ६५ वर्षको भएँ । तर, अझै २ वर्ष हिड्न सक्छु ।’
उनले नयाँ ढंगले पार्टी निर्माण गर्न हाम्फाल्ने बताए । तर, आफूहरुलाई कार्यकर्ताको साथ चाहिने बताए । आफू हाम्फाल्न नडराउने भन्दै उनले कहिले सहि र कहिले गलत ठाउँमा खुट्टा परेको सुनाए । खिलराज रेग्मी सरकार बनाउने बेला गलत ठाउँमा खुट्टा गरेको भन्दै उनले संविधान बनेपछि खुट्टा तंगि्रएको सुनाए ।
एमाओवादी अध्यक्ष प्रचण्डले नयाँ संविधानको स्वमित्व लिन र संविधान निर्माणमा एमाओवादीको महच्वपूर्ण भूमिका खेलेको सन्देश लिएर जनतामा जान कार्यकर्तालाईर् निर्देशन दिएका छन् ।
बाबुरामको राजीनामा स्वीकृत हुन्न
एमाओवादी अध्यक्ष प्रचण्डले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पार्टीमा र्फकन अपील समेत गरेका छन् ।
भट्टराईले पार्टीसँगै संसद सदस्य त्यागको घोषणा गरेपछि सभामुखले स्वीकृत गरौं भनेर सोधेको सुनाउँदै उनले भने-मैले नगर्नुस् भनेको छ । आउँदै आउनु भएन भने पछिको कुरा पछि नै गरौंला ।’
बहुमतीय सरकार हुन्न
एमाओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकार गठनमा जोड दिएका छन् । बहुमतीय सरकार गठन गरेर विदेशी शक्तिहरुलाई खेल्ने ठाउँ दिन नहुने उनले बताए ।
उनले भारतको अघोषित नाकाबन्दीको राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान खोजिने समेत बताए ।
तपाइँको प्रतिक्रिया