प्रदेशस्तरीय बालिका सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकियो

ज्ञानु पंगेनी
नवलपुर, असोज ६
नवलपुरमा सुरु भएको प्रदेशस्तरीय बालिका सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै शनिबार सकिएको छ ।
घोषणपत्रमा पछिल्लो समय निर्मला पन्तलगायतका बालिकामाथि भएका मानवता विरोधी जघन्य अपराधका घटनाले बालिकाको अगाडि बढ्ने मनोबलमा गम्भीर आघात पु¥याएकाले यस्ता घटना हुन नदिन तत्काल दोषी उपर कडा कारबाही गर्न र पीडित तथा प्रभावित परिवारलाई राहत र पुनस्र्थापना गर्नुपर्ने, बालिकाको चौतर्फी विकास र संरक्षणका लागि विशेष नीतिगतसहित कार्यक्रमिक व्यवस्था गरी सबै स्थानीय सरकारलाई बालमैत्री बनाउनुपर्ने, सामाजिक कूसंस्कार र मान्यताले बालिकाको वृद्धि र विकासमा असर पु¥याएकाले त्यस्ता अभ्यास र परम्पराहरुलाई नियमन र निषेध गर्न तीन तहकै सरकार लाग्नुपर्ने, बालबालिकासहित बालबालिकाहरुको सेवा प्रवाह गर्दा संविधानको धारा ५१ को ५ ले सर्वोत्तम हितको व्यवस्थाको नीति अनुरुप, तीनै तहका सरकारहरुले मापदण्ड तयार गरी कार्य गर्न र गराउनुपर्ने माग गरिएको छ ।
यस्तै बालिकाहरु पिछडिँदा अर्को पुस्ता पनि पछि पर्ने भएकाले विभिन्न क्षेत्रमा सशक्तिकरण गरी बालिकाको क्षमता अभिबृद्धि गरिनुपर्ने, आत्मबल र आत्मविश्वास बढ्ने कार्यक्रममा सहभागी गराइनुपर्ने , बालिकाको हितको लागि संघीय, प्रदेश र स्थानीय सरकारबाट कम्तिमा १० प्रतिशत बजेट बिनियोजन गरिनुपर्ने, बालिकाहरुमाथि गरिएको लगानी खर्च हो भन्ने बुझाइलाई परिवर्तन गरी बालिकामाथि भएको लगानीको भविष्यमा प्रतिफल लिने वातावरण तयार गर्न सबै सरकार र सरोकारवाला लाग्नुपर्ने, बाल हिंसा, बालश्रम , बालविवाह र अन्य सामाजिक कुरीतिका विषयहरुको छलफल विद्यालय स्तरमा भएमा बालिका सचेत रहन सक्ने हुँदा यस्ता विषयलाई पाठ्यक्रममा समाबेश गराइनुपर्ने र बालिकाको अर्थपूर्ण सहभागिता नै चौतर्फी विकासको आधार भएकाले बाल सरोकारका सबै क्षेत्रमा बालिकाको सहभागिता सुनिश्चितता हुनुपर्ने लगायत गरी नौ बुँदे माग गरिएको छ ।
गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका बालिका, जनप्रतिनिधि, सरोकारवाला, मानवअधिकारकर्मीलगायत गरी करीब पाँच सय जनाको उपस्थितिमा दुई दिनसम्म छलफल गरी घोषणापत्र जारी गर्दै शनिवार सम्मेलन सकिएको हो । सम्मेलन को समापन कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बालमैत्री कानुन निर्माणलाई प्राथमिकतामा राखेर आफू र प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाइन् । उनले आजका बालिका नै भोलिको ५१ प्रतिशत महिला रहेकाले भोलिको भविष्यका लागि बालिका आन्दोलनलाई सशक्त पार्न आवश्यक रहेकोमा जोड दिइन् ।
बालिका सम्मेलनले नेपाल मात्रै नभई विश्व जगतलाई समेत बालिकाको अक हधिकार प्रति गम्भिरतापूर्वक लाग्न प्रेरणा मिलेको भन्दै सम्मलेनबाट निस्केको निष्कर्षलाई पूरा गर्न कटिबद्ध भएर लाग्न आग्रह गरिन् ।
जागृति बाल तथा युवा सरोकार नेपालकाको आयोजना र गल्र्स किक, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, राष्ट्रिय मानवअधिकार आयोग, जिल्ला समन्वय समिति, देवचुली नगरपालिका, यूनीसेफ, केयर नेपाल, सेभ द चिल्ड्रेन लगायतको अन्तर्राष्ट्रिय संस्था र स्थानीय संघसंस्था स्थानीय टेलिभिजन र एफएमसँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको हो ।
तपाइँको प्रतिक्रिया