प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई नेपाली कांग्रेस मनाङले समर्थन गर्ने

लमजुङ, भदौ २४
आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई नेपाली काँग्रेस मनाङले समर्थन गर्ने भएको छ ।
मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा काँग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो । मनाङ्गमा प्रदेश सभाका लागि जम्मा दुई निर्वाचन क्षेत्र मात्र रहेको छ ।
गण्डकी प्रदेश सरकारका मन्त्रीसमेत रहेका गुरुङलाई काँग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले समर्थन गर्ने निर्णय गरेको हो ।
काँग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेका वर्तमान खेलकुदमन्त्री गुरुङलाई गठबन्धनको भावना र पार्टीको नीतिअनुसार सहयोग गर्ने निर्णय गरेको काँग्रेस मनाङले जनाएको छ ।
कांग्रेसको भातृसंगठन नेपाल तरुण दलको पूर्वअध्यक्षसमेत रहेका गुरुङ केही वर्ष पहिले पार्टी परित्याग गरी स्वतन्त्र बनेका थिए ।
अघिल्लो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदारी दिएका गुरुङलाई तत्कालीन समयमा एमालेले साथ दिएको थियो ।
यद्यपि गण्डकी प्रदेश सरकारमा कांग्रेस नेतृत्वको सरकार निर्माण हुन गुरुङको विशेष भूमिका रहेको थियो ।
तपाइँको प्रतिक्रिया