प्रदेश सरकारहरुले ६ दिन सार्वजनिक बिदा दिन पाउने

१८ फागुन, काठमाडौं ।
प्रदेश सरकारहरुले ६ दिन मात्र सार्वजनिक बिदा दिन पाउने भएका छन् । प्रदेश सरकारहरुले संघीय तहबाट तोकिएको बाहेक थप ६ दिन सार्वजनिक बिदा दिन पाउने भएका हुन् ।
सरकारले बिदासम्बन्धी व्यवस्थाको निर्णयमा भनिएको छ, ‘प्रदेश सरकारहरुले आ–आफ्नो प्रदेशको धर्म, संस्कृति र रीतिस्थिति समेतलाई दृष्टिगत गरी घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक बिदा गर्ने ।’ बिदा सम्बन्धि ब्यवस्था अनुसार सार्वजनिक बिदाका अतिरिक्त भन्दै प्रदेश सरकारहरुलाई यस्तो सुविधा दिएको हो ।
कतिपय प्रदेश सरकारहरुले यसअघि आफूखुसी बिदाको निर्णय गरेका थिए । तर प्रदेश मातहतकै संघीय कार्यालयहरुले ती बिदा कार्यान्वयन नगर्दा अन्योलको अवस्था सिर्जना भएको थियो । यही समस्यालाई सम्बोधन गर्दै समस्या हटाउन सरकारले वार्षिक ६ वटा त्यस्ता बिदामा प्रदेशमा रहेका संघीय सरकारका कार्यालयहरुमा समेत बिदा गर्ने’ घोषणा गरेको हो ।
प्रदेश सरकारले हरेक वर्ष सुरु हुनुभन्दा पहिले राजपत्रमा सूचना प्रकाशित गरी बिदा घोषणा गर्नुपर्नेछ र त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयमा खबर गर्नुपर्नेछ । ६ दिनभन्दा बढी हुने बिदाको निर्णय भने संघीय गृह मन्त्रालयले मात्रै गर्न पाउनेछ । काठमाडौं उपत्यकाभित्रको जिल्लाहरुबारे भने गृहमन्त्रालयले निर्णय गर्ने उक्त ब्यवस्थामा उल्लेख गरिएको छ ।
तपाइँको प्रतिक्रिया