प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

काठमाण्डौं ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको आज हुने भनिएको अमेरिका भ्रमण रद्द भएको छ । संयुक्त राष्ट्रसंघको ७० औं महासभामा भाग लिन प्रधानमन्त्री कोइराला नेतृत्वको टोली आज न्युयोर्क प्रस्थान गर्ने तय भएको थियो । मुलुकको पछिल्लो परिस्थितिका कारण उहाँले भ्रमण रद्द गर्नुभएको प्रधानमन्त्री निकट स्रोत जनाएको छ । प्रधानमन्त्रीको भ्रमण रद्द भएको आधिकारिक निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
मुलुकको स्थिति गम्भिर रहेको भन्दै प्रधानमन्त्री कोइरालाई राष्ट्रसंघीय महासभामा नजान चौतर्फी दवाव बढेको थियो । हिजो बसेको तीन दलको बैठकमा पनि नेताहरुले उहाँलाई अमेरिका भ्रमणमा नजान सुझाव दिएका थिए । आन्दोलनरत मधेशी मोर्चाका नेताले पनि उहाँलाई समस्या समाधानका लागि पहल गर्न भन्दै अमेरिका भ्रमणमा नजान आग्रह गरेका थिए । यसअघि मन्त्रीपरिषद बैठक १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री कोइराला आज अपरान्ह न्युयोर्क प्रस्थान गर्ने कार्यक्रम तय गर्दै बजेट समेत छुट्टयाएको थियो ।
तपाइँको प्रतिक्रिया