बाघलाई निकुञ्जमा ल्याएर छाड्न टोली परिचालन

गैडाकोट १७, नवलपरासीको वन क्षेत्रमा आतङ्क मच्चाउँदै आएको दुर्लभ पाटेबाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले एक टोली परिचालन गरेको छ । बाघ नियन्त्रणमा लिन चिकित्सक र प्राविधिक टोली हात्तीसहित परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी एवम् सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो। बाघलाई डाट गरी निकुञ्जमा ल्याएर छाड्न टोली पठाइएको हो । निकुञ्जबाट पशु चिकित्सक डा अमिर षडौला तथा पशु सहायक पुरुषोत्तम पाण्डेसहित २० जना भन्दा बढी प्राविधिक र छ वटा हात्ती पठाइएको उनले बताए । बाघ नियन्त्रणका लागि नवलपरासीको भेँडाबारी सामुदायिक वन र नारायणी सामुदायिक वनमा दुईवटा पाडो बाँधेर राखिए पनि आज बिहानसम्म बाघ फेला पार्न नसकिएको अर्यालले जानकारी दिए । गाउँक्षेत्रमा आतङ्क मच्चाउँदै आएको उक्त बाघले गएको फागुन २ गते नवलपरासीको नन्दन सामुदायिक वनमा र चैत ८ गते भेडाबारी सामुदायिक वनमा दुई जनालाई आक्रमण गरी मार्नुका साथै दर्जनौं पशु चौपाय खाएको मुकुन्दसेन इलाका वन कार्यालय गैंँडाकोटका प्रमुख तथा सहायक वन अधिकृत ईश्वर वाग्लेले जानकारी दिए । तीन दिनदेखि पाडो राखेर जङ्गलमा खोजिए पनि फेला नपारिएकाले आज पनि खोजी टिम जङ्गलमै रहेको वाग्लेले जानकारी दिए । रासस
तपाइँको प्रतिक्रिया