बाच्न सकेन गैडाको बच्चा

चितवन, असोज ३०–
पश्चिम चितवनको मेघौलीबाट भदौ २३ गते उद्धार गरिएको गैँडाको बच्चा (केटो) मरेको छ । चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले सौराहामा राखेर उपचाररत गैँडाको बच्चा (केटो) मरेको जानकारी दिनुभयो । करिब पाँच महिनाको सो बच्चालाई पश्चिम मेघौलीबाट उद्धार गरेर राखिएको थियो । उद्धारका बेला शरीरभरि बाघको आक्रमणले घाउ बनेको जानकारी प्राप्त भएको छ । बायाँ खुट्टाको पिँडुला भाँचिएको र दायाँ खुट्टाको तिघ्रा नजिकै चोट लागेको र चोटका कारण मरेको निकुञ्जले जनाएको छ । अघिल्लो महिना होटल मेघौली सेराईले करेन्ट छाडेको स्थानमा आउँदा करेन्ट लागेर मरेको माउ गैँडाको बच्चा भौँतारिँदै जाँदा बाघको पञ्जामा परेको अनुमान निकुञ्जले गर्दै आएको थियो । ऊ सँगै नवलपरासीबाट ल्याइएको अर्को सानो टुहुरो केटो भने अहिले तन्दुरुस्त भएको निकुञ्जका पूर्वी सेक्टर प्रमुख अभिनय पाठकले जानकारी दिनुभयो । नवलपरासी अमलटारीको मयुरे सामुदायिक वनस्थित नदी किनारमा फेला पारेपछि भदौ २० गते उसको उद्धार गरिएको थियो । उक्त वनमा फेला परेकाले उसलाई मयुरे भनेर बोलाइन्छ । चितवन निकुञ्जमा पटक पटक यसरी वन्यजन्तुका बच्चाहरु आमासँग बिछोडिँदा, बाघको आक्रमणमा परेर उद्धार गर्नुपर्ने अवस्थामा भेटिँदै आएका छन् । तर भरपर्दो वन्यजन्तु अस्पताल र उद्धार केन्द्र नहुँदा भने यस्ता वन्यजन्तु जोखिममा छन् । केही महिना अघि रौतहटबाट तस्करको गोली लागेर गम्भीर घाइते भई उद्धार गरिएको एउटा गैँडासमेत चितवनमा उपचारका क्रममा अघिल्लो महिना मरेको थियो ।
तपाइँको प्रतिक्रिया