बाढी तथा डुबान क्षेत्रमा संक्रमण फैलिँदै

बाँके श्रावण १५, बाढी तथा डुबानग्रस्त क्षेत्रमा झाडापखाला र भाइरल ज्वरोको संक्रमण देखिन थालेको छ। फत्तेपुर, होलियाको चौफेरी, गंगापुरको सोनवर्षा लगायत गाउँका पीडितमा संक्रमण देखिएको हो। गाउँमा भएको डुबान, बाढीले ल्याएको फोहोर र पिउने पानी अभावले उनीहरू बिरामी पर्न थालेका हुन्। राप्ती पारिको सोनवर्षा सामुदायिक स्वास्थ्य केन्द्रमा शुक्रबार एक सयभन्दा बढी बिरामी उपचारका लागि आएका छन्। फत्तेपुरमा झाडापखालाको संक्रमण देखिएको छ। पखालाबाट सिकिस्त भएका तीन जनालाई बिहीबार राति नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा भर्ना भएको जानकारी आएको इपिडिमियोलोजी महाशाखाका फोकल पर्सन रामबहादुर चन्दले बताए। तर, रोगको संक्रमण फैलिन नदिन जनस्वास्थ्यले स्वास्थ्यकर्मी परिचालन गरेको उनले जनाए। ‘वर्षाको समयमा बिरामी बढेकै हुन्छन्। तर, बाढीग्रस्त क्षेत्रका सर्वसाधारण बढी बिरामी पर्न थालेका हुन्। सोनवर्षास्थित स्वास्थ्य चौकीमा बाढी घटेपछि एक सयभन्दा बढी स्थानीय उपचारका लागि आएका छन्,’ उनले भने, ‘उपचारका लागि स्वास्थ्य केन्द्रमा आएकामध्ये अधिकांशलाई भइरल ज्वरो र झाडापखाला भएको पाइएको छ।’ त्यस्तै, बालबालिकामा आँखा पाक्ने तथा छालासम्बन्धी संक्रमण देखिन थालेको छ। बाढी प्रभावित फत्तेपुर गाविस खल्ला झगडियाका दुर्गा पाण्डेले गाउँमा ज्वरो र पखाला लागेका बिरामी बढेको बताए। ‘गाउँमा ज्वरोबाट बिरामी हुने बढिरहेका छन्। बान्ता हुने र पखालाको समस्या पनि देखिएको छ,’ नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा बान्ता र पखालाको उपचार गराएर शुक्रबार घर फर्किएका उनले कान्तिपुरसंँग भने, ‘स्वास्थ्यकर्मीको टोली गाउँमा पठाइदिनुपर्यो।’ बाढीका कारण निद्रा, भोक र फोहोर पानीका कारणले रोगको संक्रमण बढ्ने खतरा छ। जिल्ला दैवीप्रकोप उद्धार समितिले बाढी प्रभावित क्षेत्रमा विभिन्न महामारीबाट बच्न तयारी थालेको जनाएको छ। उसले सरुवा रोगको संक्रमणबाट जोगाउन पानीलाई शुद्धीकरण गर्ने औषधि प्रभावित क्षेत्रमा पठाइसकिएको जनाएको छ। शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेका अधिकारी टोलीसहित होलिया पुगेका छन्। तर, राप्तीको भंगालोमा रहेको चौफेरी गाउँसम्म टोली पुग्न सकेन। त्यहाँका प्रभावितलाई सोनवर्षास्थित स्वास्थ्य केन्द्रमा जान सुझाव दिइएको छ। होलिया र बेतहनीमा भेटिएका बिरामीलाई औषधि वितरण गरिएको छ। बाढीबाट प्रभावित बाँकेको होलिया, गंगापुर, बेतहनी, मटेहिया, कचनापुर र खासकुस्मामा आवश्यक पर्ने पानी औषधि पठाइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा झाडापखाला, भाइरल ज्वरोलगायतको संक्रमण फैलिन सक्ने खतरा अत्यधिक छ। गाविस कार्यालय घेराउ राप्ती पारिको गंगापुरका बाढीपीडितहरूले शुक्रबार गाविस कार्यालय घेराउ गरेका छन्। गंगापुर गाविसको सोनवर्षा, कुदरबेतवा, गंगापुर गाउँका बाढीपीडितहरूले गाविस घेराउ गरेका हुन्। तीन दिन बितिसक्दा पनि आफ्नो अवस्थाबारे सरकारी निकायले बेवास्ता गरेको भन्दै दबाब दिन नाराबाजीसहित कार्यालय घेराउ गरेको स्थानीय जगदीश मौर्यले बताए। उनले सोनवर्षा र कुडुवा गाउँका करिब दुई दर्जन घरपरिवार बाढीबाट विस्थापित भएको बताए। – ईकान्तीपुर
तपाइँको प्रतिक्रिया