बाबुरामले पार्टी छाड्दा वैद्य र विप्लव समूहमा खुशियाली

१० असोज, काठमाडौ । एकीकृत माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले एक्कासी पार्टी परित्याग गरेपछि प्रचण्डसँग विद्रोह गरिसकेका वैद्य र विप्लव समुहमा खुशी देखिएको छ ।
प्रचण्डलाई कमजोर बनाउन लागि परेका वैद्य र विप्लवहरु समूहका नेताहरु बाबुरामको बहिगर्मनले एमाओवादी पार्टी सिद्धिने निश्कर्षमा पुग्न थालेका छन् ।
‘डा भट्टराईले एमाओवादी परित्याग गर्नु कुनै नौलो कुरा होइन,’ विप्लव नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले अनलाइनखबरसँग भने- ‘संविधान घोषणापछि पार्टी छाड्ने उनको पूर्वप्लान नै थियो ।’
एमाओवादी अध्यक्ष प्रचण्डसँगको सामीप्यता संविधान घोषणासम्मका लागि मात्रै रहेको प्रकाण्डको दाबी छ । प्रकाण्डले भट्टराईको बहिर्गमनलाई एमाओवादी सिद्धिएको रुपमा ब्याख्या गरेका छन् ।
विप्लव माओवादीका प्रवक्ता प्रकाण्डले भट्टराईको बर्हिगमन मधेस आन्दोलनका कारण नभएको दाबी गरे । भट्टराईको पार्टी परित्याग र मधेस आन्दोलन संयोग मात्र परेको उनको ठम्याइ छ ।
विप्लव माओवादीजस्तै वैद्य माओवादीका नेताहरु पनि भट्टराईको पार्टी परित्यागपछि एमाओवादी अब विघटनको दिशामा गएको आंकलन गर्छन् ।
‘भट्टराईप्रति हाम्रो जुनखालको बुझाइ थियो, त्यो सही सावित भएको छ,’ वैद्य माओवादीका सचिव देव गुरुङ भन्छन्- ‘अबको बिकल्प भनेको आन्दोलन नै हो’, राष्ट्रघात र जनघातका विरुद्ध आन्दोलनको बिकल्प छैन ।’
तपाइँको प्रतिक्रिया