बिन्दवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता

बिन्दवासिनी म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीविरूद्ध मुद्दा दर्ता भएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालय काठमाडौंले रेग्मी विरूद्ध मुद्दा दर्ता गरेको हो । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई गत फागुन ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । विभिन्न कलाकारहरूको सामाजिक सञ्जालमा चरित्र हत्या गरेको आरोप उनलाई लागेको छ । उनी थाइल्यान्डबाट स्वदेश फर्केलगत्तै पक्राउ परेका थिए । रेग्मीविरूद्ध महेश आचार्य, प्रमोद खरेल, सत्यराज आचार्य र लक्ष्मण बिडारीले उजुरी दिएका थिए । रेग्मीले सामाजिक सञ्जालमार्फत आफूहरूको चरित्र हत्या गरेको भन्दै उनीहरूले बताएका थिए । जाहेरीको आधार ब्युरोले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा (१) बमोजिम कसूरमा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान सकेर साइबर ब्युरोले प्रतिवेदन कार्यालयमा बुझाएको थियो । प्रहरीले रेग्मीविरूद्ध पीडितले निवेदन सहित दिएको स्क्रिनसट कागजातहरू प्रमाणको रूपमा पेश गरेको छ । प्रहरी र कार्यालयले उक्त दफा अनुसार कसूर पुष्टि हुने दाबी गरेको छ । उक्त दफाअनुसार एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने उल्लेख छ ।
तपाइँको प्रतिक्रिया