बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन

१९ फागुन, काठमाडौं ।
गृह मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरु विरूद्ध हुने गलत गतिविधि रोक्न देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयासपछि गृह मन्त्रालयले यस्तो निर्देशन दिएको बताएको छ । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन निर्देशन भएको गृह मन्त्रालयले जनाएको छ ।
अभियन्ता एवं व्यवसायी दुर्गा प्रसाईंले विभिन्न सभामा सम्बोधन गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने चेतावनी दिदै आएका छन् । भापाको आमसभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर प्रसाईले बैंकका कर्मचारीलाई कालोमोसो दल्ने दस्ता नै तयार भएको बताउँदै २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने र बैंकमा कार्यरत कर्मचारीलाई च्याप्प समातेर कालोमोसो दल्ने चेतावनी दिएका थिए ।
बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनका क्रममा १८ फागुनमा कैलालीको धनगढीमा व्यवसायीले बैंकमा निक्षेप नराख्ने अभियान नै चलाएको थिए । १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा किस्ता असुलीमा गएका लघुवित्तका कर्मचारीलाई अज्ञात समूहले कालोमोसो समेत दलेको थियो ।
तपाइँको प्रतिक्रिया