बैशाख ३१ मै चुनाव गराउन पाँच दल प्रतिवद्ध

६ बैशाख, काठमाडौं । प्रमुख पाँच दल स्थानीय तहको निर्वाचन बैशाख ३१ मै गर्न सहमत भएका छन् । तर, मधेसी मोर्चा चुनावमा आए दुई चरणमा गर्ने कि एकै चरणमा भन्ने फरक मत देखिएको छ । मधेसी मोर्चाले संविधान संशोधन अस्वीकार गर्दै स्थानीय तहको चुनाव विथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि प्रधानमन्त्री प्रचण्डले पाँच दलको बैठक बोलाउनु भयको थियो। आफ्नो सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिबारे बि्रफिङ गर्नुभयको थियो भने उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले सुरक्षा तयारी र सहमति नभई चुनावमा जाँदाका सम्भावित चुनौती औल्याउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले निर्वाचन गर्न सरकार प्रतिवद्ध रहेको भन्दै बैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने बताउनुभयो । तर, मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा चुनाव गर्न सकिन्छ भन्दै दलहरुको राय मागेका छन् । गृहमन्त्री विमलेन्द्र निधिका अनुसार प्रधानमन्त्रीले मधेसी मोर्चा सहमति भएर आउँछ भने दुई चरणमा चुनाव गर्ने पनि तर्क आइरहेको तर, यो सरकारको प्रस्ताव नभएको उहाले स्पष्ट पर्नुभयो उहाले बैशाख ३१ गते चुनाव गर्ने यसमा कुनै भ्रममा नपर्नपनि आग्रह गर्नुभयो । निधिले मधेसी मोर्चा आउने सम्भावना छ भने दुई चरणमा गएर पनि चुनाव गराउन सकिन्छ भन्ने तर्कलाई कुन रुपमा लिने भन्नेमात्र रहेको बताउनु भयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले बैशाख ३१ मा एकै चरणमा चुनाव गर्नुपर्ने मत राखेका छन् । कार्यबाहक अध्यक्ष बामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ र नेता माधवकुमार नेपालले एकैस्वरमा दोस्रो चरणको कुरा नगरौं भनेका छन् । राप्रपा उपाध्यक्ष दिपक बोहोराले बैशाख ३१ मै चुनाव हुनुपर्नेबताउनु भयो भने फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले चुनावका लागि राजनीतिक वातावरण बन्नुपर्ने बताउनुभयो । उहाले मधेसी मोर्चा सहमतिमा नआउने अवस्थामा के गर्ने भन्नेबारे आफ्नो पार्टीको आसन्न बैठकले केही दिनभित्रै निर्णय लिने बताउनुभयो । बैठकपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैशाख ३१ मा एकैचरणमा चुनाव गर्ने सहमति भएको जानकारी दिनुभयो । मधेसी मोर्चालाई सहमतिमा ल्याउन लचिलो भएर सरकारले पहल गर्ने र त्यसमा विपक्षी एमालेले पनि सघाउने बताउनुभयो । माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री जनार्दन शर्माले निर्वाचन एकैचरणमा सम्पन्न हुनेमा शंका गरिरहन नपर्ने प्रतिक्रिया दिनुभयो ।
तपाइँको प्रतिक्रिया