भरतपुरका अस्पतालमा १८ जिल्लाका ३,१३८ जनामा डेगुंको सङ्क्रमण देखियो

चितवन, आसोज ६
जिल्लाका अस्पतालमा चितवन सहित देशका कम्तीमा १८ जिल्लाका डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ । कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार कम्तीमा १८ जिल्लाका डेङ्गुका बिरामीको यहाँ उपचार भएको छ । उनका अनुसार छिमेकी जिल्ला नवलपुर, मकवानपुर, धादिङ, पर्सा, तनहुँ र गोर्खाका बिरामी बढी रहेका छन् । यसैगरी नवलपरासी, लमजुङ, गुल्मी, अर्घखाँची, पाल्पा, रौतहट, बारा, रुपन्देही, सर्लाही, कञ्चनपुर र प्यूठानका बिरामीको उपचार जिल्लाका अस्पतालमा भइरहेको छ ।
केसीका अनुसार आइतबार साँझसम्म जिल्लाका स्वास्थ्य चौकीदेखि अस्पतालसम्म गरी ३४ वटा संस्थामा १० हजार ४२ जनाको डेङ्गु परीक्षण गरिएको छ । जसमध्ये तीन हजार १३८ जनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । ती बिरामीमा सबैभन्दा बढी चितवनका रहेका छन् । चितवनको संख्या दुई हजार ३९० रहेको छ ।
यस्तै नवलपुरको ३२२ र मकवानपुरका ६१ जना रहेको उनले बताए । यीबाहेक अन्य जिल्लाका ३६५ जना रहेका छन् । यो संख्या साउन यताको हो । परीक्षण गरेर संक्रमण देखिएका ३६५ मध्ये २५० जनाको ठेगाना प्रष्ट नभएको केसीको भनाइ छ । अरु थप जिल्लाका बिरामी पनि उपचारका लागि यहाँ आएको हुनसक्ने देखिएको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी बाहिरी जिल्ला ठेगाना भएकामा रोजगार, अध्ययन लगायतका कारण यहाँ बस्ने र यहाँ राम्रो उपचार हुन्छ भन्दै बाहिरी जिल्लाबाट आउने बिरामी रहेको बताए । कतिपयले यहिको ठेगाना लेखेर उपचार गर्ने गरेको उनको भनाई छ । जिल्लामा भरतपुर, दुई ठूला मेडिकल कलेजसँगै निजी र सरकारी साना ठूला अस्पताल रहेका छन् ।
तपाइँको प्रतिक्रिया