भरतपुरमा गणेशधाम निर्माणले गति लियो : दैनिक १५ घण्टा काम

चितवन, जेठ २२
भरतपुर महानगरपालिका वडा नम्बर ११ को गणेस्थानमा निर्माण भइरहेको गणेशधाम निर्माणको कामले गति लिएको छ ।
गणेशधाम संरक्षण समितिका अध्यक्ष दिनेशकुमार चुकेले प्रदेश सरकारले पहिलो चरणमा दिएको ५० लाख रुपैयाँले अहिले निर्माणको प्रारम्भिक काम धमाधम भइरहेको बताए । धामको लागि आवश्यक मूर्तीहरु निर्माणको लागि पनि जिम्मा दिइसकेको उनले बताए । त्यसैगरी प्रदेश सांसद विजय सुवेदीले गणेशधाम निर्माणले अबको तीन वर्षभित्रमा धामले आकार लिइसक्ने बताए । उनले भने, ‘ साधनस्रोत के कसरी संकलन गर्न सकिन्छ त्यसको आधारमा काम अघि बढ््छ ।’ जानकारी भएसम्म गणेशधाम विश्वकै पहिलो गणेशधाम भएको सांसद सुवेदीले बताए ।
गणेशधाम निर्माणका लागि अहिले हरेक दिन १५ घण्टा काम भइरहेको निर्माण उपभोक्ता समितिको अध्यक्ष रविन्द्र बरालले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ २८ वटा ट्याक्टर र तीनवटा डोजरले काम गरिहेका छन् । ’
अहिले तलाउ निर्माणको लागि माटो कटानको काम भइरहेको छ । त्यस्तै धामनिर्माण स्थलमा रहेको पुन्यवती खोलामा खस्ने विभिन्न सहायक नदीहरुमा ग्राबेल लगाउने काम पनि भइरहेको छ । त्यसैगरी तलाउको लागि बाँध निर्माणको काम पनि चलिरहेको जसको लागि दैनिक २३ हजार घनमिटर माटो ल्याएर पुर्ने काम भइरहेको छ ।
गत वैशाख १८ गते प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशधाम निर्माण कार्यको शिलान्यास गरेका थिए । सुरुमा ८० करोड लगानी लाग्ने अनुमान गरिए पनि यस योजनाको लागि एक अर्ब बढी खर्च हुने अनुमान गरिएको छ । यो धामलाई चार वर्षमा सम्पन्न गर्ने निर्माण उपभोक्ता समितिको लक्ष्य रहेको छ । धाम निर्माणको लागि महायज्ञबाट ११ करोड रुपैयाँ संकलन भएको थियो भने प्रदेश सरकारले सुरुमा ५० लाख रुपैयाँ सहयोगको गरेको छ । धाममा ३० फिट अग्लो गणेशको मूर्ती निर्माण गरिने योजना रहेको छ ।
तपाइँको प्रतिक्रिया