भरतपुरमा छैटौँ अन्तर्राष्ट्रिय औैद्योगिक प्रदर्शनी सुरू, प्रवेश निःशुल्क

चितवन, २ पुष ।
चितवन उद्योग संघको आयोजनामा भरतपुरमा छैटौँ अन्तर्राष्ट्रिय औैद्योगिक प्रदर्शनी सुरू भएको छ । पुस ४ गतेसम्म चल्ने प्रदर्शनीको शुक्रबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले उद्घाटन गर्नुभयो । चितवन उद्योग संघ परिसरमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री रेग्मीले नेपाली उद्योगमा महिलाहरूको सहभागिता बढाउनुपर्ने बताउनुभयो । घरेलु तथा साना उद्योगमार्फत महिलाहरूको सीप तथा क्षमताको विकास गराउन सकिने उहाँले बताउनुभयो । सरकारी तवरबाट महिलाहरूलाई उद्यमी बनाउने विषयमा पहल भइरहेको उहाँको भनाइ छ ।
चितवन उद्योग संघले गर्दै आएको प्रदर्शनबाट महिलाहरूले आफ्नो सीप र क्षमता प्रदर्शन गर्न पाएको भन्दै यस्ता प्रदर्शनी भइरहनुपर्ने बताउनुभयो । भारतीय ५० वटा स्टलसहित २०० स्टल रहेको प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको छ । प्रदर्शनीमा घरेलु तथा साना उद्योग, नेपाली उद्योग तथा कलकारखानामा आवश्यक उत्पादनहरूको प्रदर्शन गरिएको छ । प्रदर्शनीबाट देशभरका उद्योग तथा व्यवसाय गर्न चाहने नवउद्यमीहरूलाई टेवा पुग्ने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले बताउनुभयो । पछिल्लो समय विकास भएका प्रविधिका विषयमा पनि प्रदर्शनीबाट जानकारी लिन सकिने उहाँले बताउनुभयो । नेपाली उद्यमीलाई सक्षम बनाउन चितवन उद्योग संघले यसपालिदेखि नै वार्षिकरूपमा प्रदर्शनी गर्ने लक्ष्य लिइएको कँडेलले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया