भरतपुर अस्पतालको स्वास्थ्य बीमा टिकट अब अनलाइनबाट काट्न सकिने

चितवन, ८ मंसिर ।
भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ । यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरङ्ग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो ।अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ । उहाँले टिकट लिन अत्यधिक भीड भएपछि अनलाइन टिकट सुरु गरिएको बताउनुभयो ।
कोरोनापछि दैनिक स्वास्थ्य बीमाका बिरामी आठ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिनुभयो । सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उहाँले जानकारी दिनुभयो । रासस
तपाइँको प्रतिक्रिया