भरतपुर महानगरले बल्ल बनायो १५ बेडको आइसोलेसन

चितवन, ३१ बैशाख ।
भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि वडा नं १४ शिवनगरमा १५ शय्याको आइसोलेशन निर्माण गरी सञ्चालन गरेको छ । अस्पतालले नै कोरोना संक्रमणको अवस्थालाई थेग्ने भन्दै माहानगरले चितवन प्रशासनले आइसोलेसन निर्माण गर्न भने पनि अटेर गरेको थियो । चितवनका ६ पालिकाहरुमा आइसोलेसन बनेर विरामि राखिसकेको अवस्थामा माहानगरले भने बल्ल आइसोलेसन तयार गरेको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालबाट आज बिहीबार अक्सिजनसहितको उक्त आइसोलेसनको उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा प्रमुख दाहालले छोटो समयमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् । भरतपुर महानगरपालिकाले कोभिड १९ को दोस्रो प्रकोप रोकथाम तथा संक्रमितको उपचारका लागि आइसोलेसन तयार गरेको हो ।
कार्यक्रममा आवश्यकअनुसार आइसोलेसन थप्दै जाने प्रमुख दाहालको भनाइ छ । आइसोलेसन अक्सिजनको आवश्यक पर्ने बिरामीहरूका लागी सहयोगी हुने बताउँदै दाहालले अस्पतालले प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरिन् । उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले कोरोनाका बिरामीको उपचारमा भरतपुर अस्पताल, क्यान्सर अस्पताल साथै मेडिकल कलेजहरू तथा अन्य निजी अस्पतालहरूसंग निरन्तर समन्वय गरी सहजीकरण गरिरहेको बताइन् ।
उहाँका अनुसार कोभिड–१९ का बिरामीलाई अस्पतालसम्म लैजानका लागि महानगरपालिकाका तीन स्थानमा चारवटा एम्बुलेन्सले निःशुल्क सेवा प्रवाह गरिरहेको छ । महानगरपालिकाले शिवनगर स्वास्थ्य केन्द्रको आइसोलेशन निर्माणपछि शारदानगर स्वास्थ्य केन्द्रमा पनि १५ शय्याको आइसोलेशन निर्माण गर्ने तयारी गरेको छ ।
कोभिड १९ को दोस्रो लहरबाट जोगिन र जोगाउन मगानगरपालिकाले चेतनामूलक गतिविधी, स्वास्थ्य मापदन्डको पालना, बिरामीहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाको निगरानी गरिरहेको प्रमुख दाहाल बताउँछिन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरवासीलाई कोभिड महामारीबाट जोगाउन आइसोलेसन संचालन गरेको बताइन् ।
कोभिड आइसोलेसनमा एक्सरे, प्रयोगशाला, इसिजी फार्मेसीलगायतका सेवा कोभिडका संक्रमितहरूले निःसुल्क पाउनेछन् । अस्पतालमा २ मेडिकल अधिकृत, नर्स तथा तथा दक्ष प्राविधिकहरूले सेवा दिनेछन् । यस स्वास्थ्य केन्द्रमा कोभिड अस्पतालका अलवा स्वास्थ्य केन्द्रले पूर्ववत रूपमा प्रदान गरिएका सम्पूर्ण सेवा यथावत रहनेछ ।
तपाइँको प्रतिक्रिया