भवन निर्माणका लागि रु पाँच लाख सहयोग

चितवन ६, चितवनका व्यवसायी केशव कार्कीले नेपाल प्रेस युनियन चितवनको भवन निर्माणका लागि रु। पाँच लाख सहयोग गर्नुभएको छ । हिजो आइतवार चितवनको भरतपुरमा एक कार्यक्रमका बीच प्रभु हाउजिङका सञ्चालक कार्कीले प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । चेक हस्तान्तरणपछि कार्कीले पत्रकारको संस्थालाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै अन्य पत्रकारसँग सम्बन्धित सङ्घ सङ्गठनलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहयोग हस्तान्तरणपछि प्रेस युनियनले उहाँलाई दोसल्ला ओढाएर सम्मानसमेत गरेको थियो । सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रममा युनियनका अध्यक्ष अधिकारीले दाताकै सहयोगमा भवन निर्माणको काम तीव्ररुपमा अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । चितवनको भरतपुर बसेनीमा निर्माण हुँदै गरेको भवन पूर्ण गर्न रु ४५ लाख लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म भवन निर्माणका लागि नगद तथा निर्माण सामग्री गरी रु २५ लाख बराबरको सहयोग प्राप्त भइसकेको छ । यसअघि समाजसेवी तथा पूर्व सांसद मैयाँदेवी श्रेष्ठले युनियनका लागि जग्गा सहयोग गर्नुभएको थियो । तीन घुम्ती फिल्मको च्यारिटी शो गरेर रु १० लाख उठाएको युनियनको भवन निर्माणका लागि रु १५ लाख दाताबाट सहयोग प्राप्त भएको आर्थिक समितिका संयोजक सिर्जना अर्यालले बताउनुभयो । मङ्सिरसम्ममा निर्माण सक्ने योजना युनियनको छ । यो भवन पत्रकारको क्षमता र दक्षता वृद्धिका लागि प्रयोग हुने युनियनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया