भवन बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले प्रेस चौतारी चितवनले गर्यो चौतारी साँझ, संचारकर्मीहरु पुरस्कृत

चितवन, कात्तिक ५
प्रेस चौतारी चितवनले हिजो साँझ मात्र चौतारी साँझ सम्पन्न गरेको छ । आफ्नो जग्गामा भवन बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले शुक्रबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चौतारी साँझको आयोजना गरेको हो । चौतारी साँझमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकले भरपुर मनोरञ्जन लिए । जनवादी गायक जीवन शर्मा र गायक बद्री पंगेनीको गितमा दर्शकहरु मज्जाले नाचे ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले कार्तिक ४ गते आज भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चौतारीको भवन निर्माण सहयोगार्थ चौतारी साँझ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जीवन शर्मा, बद्रि पंगेनी, एलिना चौहान, हास्य कलाकार राजा राजेन्द्र, कवि सुदेश सत्यालले आफ्नो प्रस्तुती दिए । साथै नारायणी कला मन्दिरको विषेश सांस्कृतिक प्रस्तुतीका साथैं, चितवनको पहिचान थारु नाच र देउसी भैलोको कार्यक्रम पनि गरिएको थियो ।
प्रभु हाउजिङ्ग तथा प्रोर्पटी डिर्लस प्रालि तथा व्यवसायी तेजबहादुर कार्की(केशव) ले प्रेस चौतारी चितवनलाई भवन निर्माणका लागि भन्दै भरतपुर ११ बसेनीमा पौने नौ धुर जग्गा उपलब्ध गराएका थिए । प्रेस चौतारीको आफ्नो नाममा जग्गा नेपालमा चितवन बाहेक कहि पनि नभएकोले आफ्नै स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताए । चौतारी साँझमा प्रवेशका लागि एक हजार, दुई हजार पाँच सय र पाँच हजारको टिकट राखिएको थियो । चौतारीको भवन साढे ३ तला बन्नेछ ।
चौतारी साँझको अवसरमा प्रेस चौतारी चितवनले नारायणी अनलाईनका प्रबन्धक कृष्ण आचार्य र प्राइम टाइम्स टेलिभिजनको चितवन संवाददाता रविना पौडेललाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही १० हजार रुपैयाँ राशीको जोखिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको पण्डितले बताए । उक्त पुरस्कारका लागि एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव, प्रवासी नेपाली मञ्च पूर्वी एशिया महादेशीय कमिटीका अध्यक्ष एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष डा.सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् ।
११ हजार १११ राशीको स्वर्गीय पत्रकार द्वारिका नेपाल स्मृति पुरस्कारबाट सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चारक तथा पत्रकारिता विषयका प्राध्यापक मधुसुदन दवाडी पुरस्कृत भएका छन् । चितवनमा पत्रकारिता विषय लिएर कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण भएका रौतहटका हैदल अली शाहलाई १० हजार रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । साथै प्रेस चौतारी चितवनका संस्थापक रामबाबु सुवेदी, सञ्चारकर्मी मनोज पन्त, कोमलचन्द्र भगत, मनोज घिमिरे, सञ्चार उद्यमी सहन प्रधानलगायतलाई चौतारीले सम्मान गरेको छ ।
तपाइँको प्रतिक्रिया