भारतमा कोरोना संक्रमण ह्वात्तै बढे सँगै नेपालमा पनि उच्च जोखिम

चैत्र २४, काठमाण्डौ
छिमेकी देश भारतमा कोरोना संक्रमण ह्वात्तै बढे सँगै नेपालमा पनि यसको जोखिम उच्च देखिएको छ । खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले जोखिम झनै बढने विज्ञहरूले बताएका छन् ।
सीमामा निर्वाध आवतजावतले मुलुकभित्र आगामी दिनमा संक्रमण बढ्ने जोखिम भएको जनस्वास्थ्य विज्ञ डा बाबुराम मरासिनीले बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाका एक जना बिरामीको भेन्टिलेटरमा उपचार भइरहेको छ । चार जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् ।
चैतको पहिलो सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको हो । चैतमा संकलित २४ वटा नमुनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबीको संक्रमण फैलिरहेको जनाइएको छ । गत चैत १७ गते सबैभन्दा बढी १ सय ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
खोप नलगाएका व्यक्तिहरूलाई संक्रमणको जोखिम झन् उच्च हुन्छ । सीमा नाकाहरूमा स्थापित हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीबाट कोभिड–१९ को परीक्षण गराई नतिजा पोजेटिभ आएमा परामर्शका साथै नजिकको अस्पतालमा निदान र उपचारको व्यवस्था मिलाइएको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी पनि दिनानुदिन संक्रमित भइरहेका छन् ।
तपाइँको प्रतिक्रिया