भारतमा दूत पठाएर संविधान संशोधनबारेमा छलफल गर्नु गलत : नारायणमान बिजुक्छे

काठमाडौँ ७ , नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भारतमा दूत पठाएर संविधान संशोधनबारेमा छलफल गर्नु गलत भएको बताएका छन् । भक्तपुर विकास सहयोग सङ्घको २५औँ स्थापना दिवस एवम् रजत महोत्सवमा उनले नेपालका मामिलामा दूत पठाएर भारतमा छलफल गर्नाले नेपालको सार्वभौमिकतामाथि ठूलो धक्का पुग्ने बताए । वर्तमान सरकारले काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा भारतलाई दिन खोज्नु गलत भएको टिप्पणी गर्दै उनले नेपालको विकास निर्माणको काम गर्न नेपालले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिए । सांसद बिजुक्छेले महिना दिनभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारबाट संविधान कार्यान्वयनको अपेक्षा गर्न नसकिने भन्दै एक महिना बित्न लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने प्रधानमन्त्री प्रचण्डबाट धेरै अपेक्षा गर्न नसकिने , तीन महिना सरकारले पूर्णता पाउन लाग्ने, तीन महिनापछि अर्को सरकार गठनको प्रक्रिया सुरु गर्न लाग्ने, यो सरकारले संविधान कार्यान्वयन गर्न नसक्ने वताउनुभयो । राज्य पुनःसंरचना र सीमाङ्कनमा समस्या भए त्यसमा अल्झेर बस्न नहुने बताउँदै उनले अहिलेकै संरचनालाई आधार मानेर भए पनि स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गरे ।
तपाइँको प्रतिक्रिया