भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सबै जना एकजुट हुन आवश्यक

श्रावण २९, मध्यविन्दु
मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले दलिय चिन्तनबाट माथि उठेर भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानमा सबै जना एकजुट हुन आवश्यक रहेको बताउनु भएको छ । विगतका समस्या समाधानको लागि भएका पहलहरु दलिय चिन्तन र हस्तक्षेपको कारण सार्थक बन्न नसकेको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा आज भएको भूउपयोग योजना र भूमि सम्बन्धी समस्या समाधानमा स्थानीय सरकार विषयक नगरस्तरिय अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख अधिकारीले मध्यविन्दु नगरपालिका भित्रका समस्याहरु समाधानको लागि सबै पक्षसंग समान बुझाई र सहमतिका साथ काम अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो ।
लामो समय देखि राजनितिक दलहरुले भूमिहिन सुकुम्बासीको समस्यालाई आफ्नो राजनितिक एजेण्ड बनाएपनि कार्यान्वयन गर्ने समयमा कुन दलले त्यसको जस लिने भन्ने होडका कारण समस्याहरु समाधान हुन नसकेको उहाँले बताउनुभयो । मध्यविन्दु नगरपालिका भित्र लगत्त संकलन, प्रविष्टी र नियन्त्रण विन्दु स्थापना सम्मको काम सम्पन्न भइसकेको भन्दै बाँकी काम जिल्ला भूमि आयोगसंगको समन्वयमा तत्काल अगाडी बढाईने बताउनुभयो ।
नगर स्तरिय समिति निर्माणको लागि राजनितिक दलहरुलाई पत्रचार समेत गरेको बताउदै उहाँले अबको केही दिन भित्र भूमि सम्बन्धि समस्या समाधानको लागि बाँकी काम अगाडी बढ्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले मध्यविन्दु नगरपालिकामा भूमि सम्बन्धि समस्या समाधानको लागि भएको प्रगति उल्लेखनिय रहेको भन्दै बाँकी काम ६ महिनामा सम्पन्न गर्न सक्नेगरी अगाडी बढाउन आयोगको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । केही दिन अगाडी मात्रै गठन भएको आयोगको कार्यालय व्यवस्थापन सहित अन्य अध्ययनको कामहरु भइरहेको भन्दै अब तत्काल स्थानीय सरकारहरुसंगको समन्वयमा समस्या समाधानको काम अगाडी बढाउने उहाँले बताउनुभयो । उहाँले पहिलो चरणमा भूमिहिन दलित र सुकुम्बासीहरुलाई र दोस्रो चरणमा अव्यवस्थित बसोबासीलाई प्राथमिकतामा राखेर बाँकी काम अगाडी बढाउने योजना आफुहरु रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष सरस्वती सुब्बाले सबै नागरिकलाई भूमिको प्रत्याभूति गराउने दायित्व सरकारको भएको भन्दै अहिले भइरहेको भूमि सम्बन्धि समस्या समाधानको काममा कुनैपनि भूमिहिन, सुकुम्बासीहरु छुट्न नहुने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्चका सदस्य मनिराम लोहारले भूमि सम्बन्धि संवैधानिक व्यवस्था र स्थानीय तहको अधिकार तथा दायित्वको बारेमा सहजिकरण गर्नु भएको थियो । यस्कै कल्पना कार्कीले भूउपयोग योजनाको बारेमा सहजिकरण गर्नुभएको थियो । भूउपयोग योजना निर्माण गरी नगरपालिकाले नगर भित्रका सबै जमिनहरुको वर्गिकरण मार्फत आवास र कृषि योग्य जमिनको एकिन गर्नुपर्ने उहाँले बताउनुभयो ।
भूमी समस्या समाधान आयोगका पूर्व विज्ञ सदस्य एवम् भूमि विज्ञ जगत देउजाले मध्यविन्दु नगरपालिकामा हाल सम्म भएको कार्यप्रगति अन्य स्थानीय तहको तुलनामा उत्कृष्ट रहेको भन्दै विगतमा पनि मध्यविन्दु नगरपालिकालाई प्राथमिकतामा राखेर आयोगले काम अगाडी बढाएको स्मरण गर्नुभयो । बाँकी कामहरु लाई प्राथमिकताको क्षेत्र निर्धारण गरेर कार्ययोजना सहित अगाडी बढाउन सुझाव दिनुभयो ।
कार्यक्रममा भूमी आयोग नवलपुरका सदस्य सुस्मा खनाल सहित अन्य सदस्य, राष्ट्रिय भूमि अधिकार मञ्चका सदस्यहरु, नगरकार्यपालिका सदस्यहरु, राजनितिक दलका प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरीले नगरपालिकाले भूमि सम्बन्धि समस्या समाधानको कामलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने योजना सहित आईतबारको कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकामा दुई सय ६४ परिवार भूमिहिन दलित, एक हजार एक सय ३२ परिवार भूमिहिन सुकुम्बासी, र ६ हजार दुई सय ७२ परिवार अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रविष्टि गर्ने कार्य सम्पन्न भइसकेको छ । यस्तै नगरको १५ वटै वडामा गरी कुल दुई सय २७ स्थानमा नापनक्सा गर्नका लागि नियन्त्रण बिन्दु स्थापना गरिएको नगरपालिका अधिकृत विष्णुराज गौतमले जानकारी दिनुभयो ।
तपाइँको प्रतिक्रिया