भैरहवाबाट तेलको ट्यांकरसहित ८७ वटा गाडी भित्रिए

१३ असोज, भैरहवा । रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट ८७ वटा मालवाहक गाडी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
मंगलबार सिमानामा भएको आन्दोलनकारी र प्रहरबीचको झडपपछि बुधवार बसेको नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको बैठकले भारतमा रोकिएका मालवाहक गाडी नेपाल भित्राउने निर्णय भएको थियो ।
भारतबाट साँझ ६ बजेसम्म ६ वटा तेलको ट्यांकर, एउटा खाना पकाउने ग्याँसको ट्यांकर, एउटा अक्सीजन ग्याँस र खाद्यन्न, कपडा, आलु, प्याज, मोबिल लगायत गरी कुल ८७ वटा गाडी भित्रिएको भैरहवा भन्सार कार्यालयका प्रमुख लवण्य ढकालले बताए ।
भारतबाट पर्यटकका २३ वटा बसहरु पनि मुलुकमा प्रवेश गरेको छ । ढकालले भारतबाट अझै थप एउटा तेलको ट्यांकर र एउटा खाना पकाउने ग्याँसको ट्यांकर आउने सम्भावना रहेको बताए । उनका अनुसार भारतबाट साथै नयाँ मोटरसाइकल, बोलेरो जीपहरु पनि भित्रिएका छन् ।
भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालवाहक सवारी साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्टकटिङ गरेर सिमानासम्म ल्याइरहेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुलुकमा नाकाबन्दी गर्ने निर्णय अनुसार विभिन्न नाकामा धर्नामा बसेको दिनदेखि मुलुकभित्र यति ठूलो संख्यामा पहिलो पटक मालवाहक सवारी साधनहरु भित्रिएका हुन् ।
तपाइँको प्रतिक्रिया