मधेशी मोर्चामै विवाद, एउटाले बन्द खुकुलो पार्दा अर्कोको बन्द यथावत

राधे श्याम विश्वकर्मा,भैरहवा, २३ कार्तिक । रुपन्देहीमा आन्दोलनत रहेका मधेशी मोर्चाहरुमै विवाद देखिएको छ । दिपावली र छठमो एउटा मोर्चाले बन्द खुकुलो बनाउने जनाएको छ भने अर्को पक्षले कृषि प्रयोजनको लागी मात्र बन्द खुकुलो बनाएको जानकारी दिएको छ । बिगत ३ महिना देखी आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिपावली र छठलाई ध्यानमा राखेर मंसिर ३ गते सम्मलाई बन्द खुकुलो बनाएको जनाएको छ भने समानान्तर रुपमा स्थापना गरिएको संघिय मधेशी मोर्चाले ब्यापारीक प्रयोजनलाई नभई कृषि प्रयोजनको लागी मात्र बन्द खुकुलो गरेको जानकारी दिएको छ ।भैरहवामा पत्रकार सम्मेलन गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंसिर ३ गते सम्म रुपन्देहीका सम्पूर्ण क्षेत्रमा सवारी साधन चलाउन सक्ने जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले आन्दोलन अवधि भर बन्द रहेको भैरहवा–परासी तथा भैरहवा–लुम्बिनी सडक खण्ड पनि खोलिएको जानकारी दिए । यस अवधि भर कुनै पनि सवारीलाई मोर्चाका कुनै कार्यकर्ताले कुनै अवरोध नगर्ने उनले प्रतिवद्धता जनाएका छन ।
मंसिर ३ गते सम्म बन्द खुकुलो बनाए पनि भन्सार केन्द्रित आन्दोलन र पेट्रोलियम पदार्थको कालोकजारी रोक्ने कार्य भने यथावत रहेको मोर्चाका अर्को घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारी) को भनाई छ । “हाम्रो आन्दोलन जारी छ, दिपावली र छठलाई हेरेर बन्द खुकुलो मात्र पारिएको हो ।” गुल्जारीले भने ।
यता संघिय मधेशी मोर्चाको संयोजक आफु रहेको दावी गर्दै नेपाल सदभावना पार्टीका महासचिव हरिश्चन्द्र सिंहले ब्यापारी प्रयोजनको लागी बन्द खुकुलो नपारीएको बताए । लुम्बिनी औद्योगिक कोरिडोरमा रहेको सम्पूर्ण उद्योग बन्द गरि उद्योग सम्बन्धि कुनै पनि यातायात सञ्चालन नगर्न उनले चेतावनी दिए । “तिहार सम्म मात्र कृषि प्रयोजनको लागी बन्द खुकुलो बनाईएको हो । अन्य सम्पूर्ण क्षेत्र बन्द छ । ” संघिय मधेशी मोर्चाका संयोजक सिंहले फोन सम्पर्क गरि जानकारी दिए ।
रुपन्देहीमा आन्दोलनरत दुई मधेशी मोर्चाको अलग अलग भनाई आए पछि अहिले उद्यागी लगायत यातायात ब्यावसायी एवम अन्य सर्वसाधारण अन्यौलमा परेका छन ।
तपाइँको प्रतिक्रिया