मधेसी मोर्चाले तीन दलसँग छलफल गर्न कार्यदल बनायो

आन्दोलनरत मधेसी मोर्चाले प्रमुख तीन दलसँग वार्ता गर्न आफ्नातर्फवाट तीन सदस्यीय कार्यदल गठन गरेको छ । तमलोपाको कार्यालय विजुलीबजारमा मंगलबार बिहान बसेको मोर्चाको बैठकले तमलोपाबाट सह–अध्यक्ष ह्दयेश त्रिपाठी, संघीय समाजवादी फोरम नेपालबाट महासचिव राजेन्द्र श्रेष्ठ र तराई मधेस सद्भावना पार्टीका राम नरेश यादव रहेको तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा मोर्चामा आवद्ध राजेन्द्र महतोको दल सद्भावना पार्टी भने सहभागी छैन । बैठकपछि तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रमुख तीन दलको कार्यदलमा तीन जना मात्र नेता रहेका कारण मोर्चाले पनि आफ्नो कार्यदलमा तीन जना नेता मात्र राखेको बताउनुभयो । कार्यदलमा नबसे पनि पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमन भने सहभागी हुनुहुन्थ्यो । महासचिव सुमनले भौतिक रुपले उपस्थित नभएपनि कार्यदलले गर्ने काममा पार्टीको समर्थन रहने बताउनुभयो । उहाले कार्यदल दल विशेषको नभइ मोर्चाको भएकाले कार्यदललाई आफ्नो पार्टीले सम्पतिको रुपमा लिएको बताउनुभयो । पार्टीका अध्यक्ष महतोमाथि विराटनगरमा भएको कुटपिटको घटनाबारे सरकारले माफी नमागेसम्म सरकारले बोलाउने वार्तामा सहभागी नहुने घोषणा गरेको सद्भावनाले वार्ता टोलीमा आफ्नो तर्फवाट सदस्य नपठाएको हो। । मोर्चाले गठन गरेको कार्यदलले अब आफ्ना माग सम्बोधन गराउने विषयमा प्रमुख तीन दलसँग वार्ता गर्नेछन् । प्रमुख तीन दलले कांग्रेसवाट केन्द्रीय सदस्य महेश आचार्य, एमालेवाट उपाध्यक्ष समेत रहेका रक्षामन्त्री भीम रावल र एकीकृत माओवादीवाट महासचिव कृष्णवहादुर महरा रहेको कार्यदल गठन यसअघि नै गरिसकेको छ ।
तपाइँको प्रतिक्रिया